बझाङ- बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।
बुधबार बिहान करिब ८: ४५ बजे से ००१ च ४३७६ नम्बरको जीप दुर्घटनामा परेको हो। काँडाचौरका १५ जना स्थानीय बासिन्दालाई बोकेर बाग्थलातर्फ आउँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको स्थानीयले बताएका छन्।
दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जीपमा सवार ६ जना गम्भीर घाइते भएका छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको बताइएको छ।
जीपका चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामी रहेको र उक्त जीप केदारस्युँ गाउँपालिका–७ का वडाध्यक्ष चन्द्र धामीको रहेको स्थानीयले बताएका छन्।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।