काठमाडौं- सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल हेर्न दर्शकले देखाएको उत्साह फाइनलको भन्दा पनि बढी देखिएको छ। अर्कोबर्ष अक्टोबर १० मा जोहानेसबर्गमा हुने भारत–पाकिस्तान खेलका लागि ८३ लाख ९७ हजार २९४ वटा टिकट आवेदन परेका छन्।
जोहानेसबर्गस्थित उक्त रङ्गशालाको दर्शक क्षमता ३४ हजार मात्र छ। यसअनुसार उपलब्ध सिटभन्दा करिब २४७ गुणा बढी आवेदन परेको छ। नोभेम्बर २१ मा सोही रङ्गशालामा हुने विश्वकप फाइनलका लागि भने ७९ लाख ९४४ वटा आवेदन परेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसीले) जनाएको छ।
विश्वकपका खेलको टिकट आवेदन प्रक्रिया नोभेम्बर २१, २०२६ सम्म खुला रहनेछ। टिकटको माग उपलब्ध सिटभन्दा बढी भएमा कम्प्युटर प्रणालीमार्फत गोलाप्रथाबाट टिकट खरिद गर्न पाउने आवेदक छनोट गरिनेछ। यो पहिले आवेदन दिनेले पहिले टिकट पाउने प्रणाली भने होइन।
आइसीसीका अनुसार हालसम्म १९३ देशबाट प्रतियोगिताका लागि १२ करोडभन्दा बढी टिकट आवेदन प्राप्त भएका छन्। दक्षिण अफ्रिकामा हुने ४१ खेलका लागि मात्रै १० करोड ५० लाखभन्दा बढी आवेदन परेका छन्। आयोजक टोली दक्षिण अफ्रिकाका खेलका लागि करिब दुई करोड ६० लाख आवेदन परेको छ।
२४ वर्षपछि एकदिवसीय विश्वकप अफ्रिकी भूमिमा फर्किन लागेको हो। दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने प्रतियोगितामा १४ टोली सहभागी हुनेछन्। १२ वटा रङ्गशालामा कुल ५७ खेल सञ्चालन हुनेछन्। तीमध्ये आठ रङ्गशाला दक्षिण अफ्रिका, तीन जिम्बाब्वे र एउटा नामिबियामा रहनेछन्। नामिबियाले पहिलोपटक पुरुषको वरिष्ठ विश्वकपका खेल आयोजना गर्न लागेको हो। दक्षिण अफ्रिका र जिम्बाब्वेले यसअघि सन् २००३ को विश्वकप आयोजना गरेका थिए।
यसअघि पनि क्रिकेटका ठूला प्रतियोगितामा टिकट वितरणका लागि गोलाप्रथा प्रणाली अपनाइएको थियो। सन् २०११ को एकदिवसीय विश्वकपमा भारतमा हुने सेमिफाइनल र फाइनलका टिकटका लागि सार्वजनिक गोलाप्रथा प्रणाली लागू गरिएको थियो। सन् २०१६ को टी–२० विश्वकपमा भारतका खेलसहित सेमिफाइनल र फाइनलका टिकट गोलाप्रथाबाट वितरण गरिएको थियो। सन् २०१९ को एकदिवसीय विश्वकपमा क्रिकेट परिवार र सर्वसाधारणका लागि दुई चरणमा टिकट छनोट गरिएको थियो। सन् २०२४ को टी–२० विश्वकपमा पनि सार्वजनिक गोलाप्रथा प्रणाली अपनाइएको थियो। त्यतिबेला भारत–पाकिस्तान खेलका लागि उपलब्ध सिटभन्दा २०० गुणाभन्दा बढी आवेदन परेको थियो।
आइसीसी एकदिवसीय क्रिकेट विश्वकप २०२७ को अक्टोबर २ देखि २१ नोभेम्बरसम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना हुदैछ। यस विश्वकपमा १४ देश खेल्दैछन्।