काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ।
मन्त्री सीता बादीको अध्यक्षतामा कात्तिक १६ गते सम्पन्न बैठकमा मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल तथा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता थियो।
बैठकमा मन्त्रालय र मातहतका निकायले पहिलो तीन महिनामा सञ्चालन गरेका कार्यक्रम, हासिल उपलब्धि, बजेट कार्यान्वयनको अवस्था तथा कार्यक्रम सञ्चालनका क्रममा देखिएका समस्याबारे समीक्षा गरिएको थियो।
समीक्षाका क्रममा पहिलो त्रैमासिक अवधिमा ५२ जना सडक बालबालिकाको उद्धार गरिएको जानकारी दिइएको छ। देशभर हराएका २ हजार ३५६ बालबालिकामध्ये २ हजार ७७ जनालाई फेला पारी परिवारसँग पुनर्मिलन गराइएको मन्त्रालयले जनाएको छ। त्यस्तै, हिंसा तथा जोखिममा परेका २२६ जना बालबालिकाको तत्काल उद्धार गरी संरक्षण तथा व्यवस्थापन गरिएको छ। बाल हेल्पलाइनमार्फत २ हजार ९७८ जना बालबालिकालाई राहत, उपचार, मनोविमर्श तथा कानुनी परामर्शलगायतका सेवा उपलब्ध गराइएको विवरण बैठकमा प्रस्तुत गरिएको थियो।
बैठकमा महिला सशक्तीकरण, बालबालिकाको संरक्षण, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र सामाजिक सुरक्षा कोषको दायरा विस्तारलगायतका विषयमा पनि समीक्षा गरिएको थियो। सेवा केन्द्र तथा पुनर्स्थापना केन्द्रको पूर्वाधार निर्माण र ज्येष्ठ नागरिकको हेरचाहसम्बन्धी प्रगतिको अवस्थाबारे समेत छलफल भएको थियो।
नीतिगत तथा कानुनी सुधारका विषयमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, बालबालिका र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधनका विधेयक तथा दलित समुदायको अधिकार र विकाससम्बन्धी विधेयकको मस्यौदा तयारीबारे जानकारी गराइएको थियो।
यसैगरी, विपद्बाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको उद्धार, संरक्षण, राहत र मनोसामाजिक सहयोगका लागि भएका प्रयासको समीक्षा गरिएको थियो।
बैठकमा मन्त्रालयका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्ने तथा नीतिगत सुधार र अन्तरमन्त्रालय समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको मन्त्रालयले जनाएको छ।