काठमाडौं- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन्। जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएका छन्।
सिक्टा सिँचाइ आयोजनाले ५४ करोड ३ लाख रुपैयाँ लागत अनुमानका चारवटा बोलपत्र आह्वान गरिसकेको छ। आयोजनाले आगामी पुस मसान्तसम्म २ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने र थप ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ। बबई सिँचाइ आयोजनाले पनि पुस मसान्तसम्म थप ३०० हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिएको विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले बताएका छन्।
यसैगरी, कैलालीको टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति भदौ मसान्तसम्म १५ प्रतिशत पुगेको छ। साउनमा ८ प्रतिशत रहेको आयोजनाको भौतिक प्रगति एक महिनामा ७ प्रतिशतले बढेको हो। वित्तीय प्रगति पनि ५.२५ प्रतिशतबाट बढेर ११.४३ प्रतिशत पुगेको छ। आयोजनाले १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ लागत अनुमानका छवटा बोलपत्र आह्वान गरिसकेको छ।
रानी जमरा कुलरिया आयोजनाले पुस मसान्तसम्म २ अर्ब ३० करोड रुपैयाँ बराबरका १२ वटा बोलपत्र आह्वान गर्ने, १.५ किलोमिटर तटबन्ध निर्माण गर्ने र १६० हेक्टर जग्गा उकास गर्ने लक्ष्य राखेको छ। त्यस्तै, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले भदौ मसान्तसम्म ३.४ प्रतिशत भौतिक र ३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। उक्त आयोजनाले पुस मसान्तसम्म ६१ करोड रुपैयाँ बराबरका चारवटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ।
सुनकोशी मरिन डाइभर्सन आयोजनाले पनि पुस मसान्तसम्म ९७ हेक्टरमा लिफ्ट सिँचाइ सुविधा विस्तार गर्ने र ६.१८ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्य राखेको आयोजनाले जनाएको छ।