काठमाडौं- राजनीतिक विश्लेषक तथा प्राध्यापक डा.सुरेन्द्र केसीले लेखकहरूले समाज, राष्ट्र र नागरिकका पीडा तथा समसामयिक अवस्थालाई आफ्नो लेखनमा समेट्नुपर्ने बताएका छन्।
राजधानी काठमाडौंमा आइतबार आयोजित अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम ‘ग्लोबल अथर अवार्ड २०२६’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘सीमापार साहित्यको उत्सव’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा केसीले साहित्यिक क्षेत्रले सामाजिक तथा राष्ट्रिय रूपान्तरणमा योगदान पुर्याउनुपर्ने धारणा राखे।
उनले भने, ‘लेखकहरूले समाज, राष्ट्र र नागरिकका पीडा तथा समसामयिक अवस्थालाई आफ्नो लेखनमा समेट्नुपर्छ। साहित्य केवल सिर्जनामा मात्र सीमित हुनुहुँदैन, यसले समाज र राष्ट्रको रूपान्तरणमा पनि योगदान दिन सक्नुपर्छ। देशमा देखिएका विकृति, विसङ्गति र नागरिकका निराशालाई लेखनमार्फत उजागर गर्दै सुधारका लागि आवाज उठाउनुपर्छ। लेखकहरूले आफ्नो सिर्जनामार्फत समाजमा सकारात्मक सोच र परिवर्तनको सन्देश दिन सक्नुपर्छ।’
उनले नेपालमा सीमित व्यक्तिहरूले मात्रै विभिन्न अवसर र जिम्मेवारी पाउने प्रवृत्ति रहेको उल्लेख गर्दै योग्यताका आधारमा सबैले अवसर पाउने संस्कार विकास गर्नुपर्ने बताए। आफू कुनै पनि राजनीतिक दलको सदस्य नभएकै कारण विभिन्न अवसरबाट वञ्चित हुनुपरेको अनुभवसमेत उनले सुनाए।
आफूले न्यूनतम २५ देखि २८ वटा पुस्तक लेखेको, विद्यावारिधि गरेको, चार हजारभन्दा बढी लेख तथा रचना प्रकाशित गरेको र २० हजारभन्दा बढी अन्तर्वार्ता दिएको उल्लेख गर्दै केसीले आफ्नो पहिचान स्वतन्त्र लेखन र अभिव्यक्तिसँग जोडिएको बताए।
उनले भने, ‘नेपालमा एउटा रेडिमेड परम्परा छ, एउटै व्यक्ति पटक–पटक विभिन्न पद र अवसरमा पुग्ने, अरूले अवसर नै नपाउने। योग्यताका आधारमा अवसर पाउने संस्कार हामीले विकास गर्नुपर्छ। मैले २७–२८ वटा पुस्तक लेखें, पीएचडी गरें, चार हजारभन्दा बढी लेखरचना लेखें र २० हजारभन्दा बढी अन्तर्वार्ता दिएँ। तर मेरो सबैभन्दा ठूलो गल्ती भनेको कुनै पनि राजनीतिक दलको सदस्य नहुनु रहेछ। मेरो अभिव्यक्ति, लेखन र पहिचानको मूल आधार नै स्वतन्त्रता हो।’
उनले पुरस्कार, सम्मान तथा अवसर वितरणमा निष्पक्षता र योग्यतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। योग्य व्यक्तिलाई उचित स्थान दिइएमा समाजले स्वतः सम्मान गर्ने उनको भनाइ थियो।
केसीले गौतम बुद्धले दिएको शान्ति र सहअस्तित्वको दर्शनलाई स्मरण गर्दै वर्तमान समाजमा शान्ति, सहिष्णुता र सद्भावको आवश्यकता रहेको बताए। समाजमा न्याय, प्रहरी, राजनीति तथा अन्य सार्वजनिक संस्थाप्रति असन्तुष्टि बढिरहेको उल्लेख गर्दै उनले यस्ता विषय साहित्य र लेखनमा पनि प्रतिबिम्बित हुनुपर्ने धारणा राखे।
कार्यक्रममा विश्वका विभिन्न देशका प्रतिष्ठित लेखक तथा व्यक्तित्वहरूको सहभागिता छ। सो अवसरमा विभिन्न विधामा अवार्ड समेत वितरण गरियो।
इन्फिनिटी सर्भिसेज प्रालिकी संस्थापक शीतल खड्का तथा टोलीको नेतृत्वमा भएको कार्यक्रममा नेपाललगायत भारत, संयुक्त राज्य अमेरिका, सिंगापुर, फिजी, क्यानडा, बंगलादेश र संयुक्त अरब इमिरेट्स (दुबईसहित) बाट ४५ जना लेखक तथा सम्मानित व्यक्तित्वहरूको सहभागिता छ।