आइतबार, कात्तिक १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेको अम्बे स्टिलमा आगलागी: घाइते आठ मध्ये दुई जनालाई लखनउ लगियो

बाँकेको अम्बे स्टिलमा आगलागी: घाइते आठ मध्ये दुई जनालाई लखनउ लगियो

 |  आइतबार, कात्तिक १५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १५, २०८३

बाँके- बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन्। आइतबार बिहान कम्पनीभित्र रहेको फलाम पगाल्ने भट्टीमा विद्युत् सर्ट सर्किट हुँदा आगलागी भएको हो।

प्रहरीका अनुसार आइतबार बिहान करिब ५:४० बजे २५ टन क्षमताका तीनवटा भट्टीमा अचानक आगलागी भएको थियो। घटनामा बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो। थप उपचार आवश्यक परेपछि घाइते शिवप्रसाद चमार र रामदिन हरिजनलाई बिहान ८: ४५ बजे भारतको लखनउ रिफर गरिएको छ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो।

प्रहरीले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जानकारी दिदै अन्य भौतिक तथा आर्थिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको जनाएको छ।

प्रकाशित: Nov 01, 2026| 12:24 आइतबार, कात्तिक १५, २०८३