काठमाडौं- स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो आल्भेसलाई ६–१ गोलले पराजित गरेको छ।
घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै फराकिलो जित निकालेको हो।
बार्सिलोनाको जितमा राफिन्हा र लामिन यामालले दुई–दुई गोल गरे भने फर्मिन लोपेज र एन्थोनी गोर्डनले एक–एक गोल गरेका थिए। आल्भेसका लागि मारियानो डियाजले एक गोल फर्काएका थिए।
खेलको आठौँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। २३औँ मिनेटमा फर्मिन लोपेजले गोल गर्दै अग्रता दोब्बर बनाए भने ४१औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० ले अघि बढ्यो। पहिलो हाफको इन्जुरी समयमा लामिन यामालले गोल थपेपछि बार्सिलोनाले मध्यान्तरसम्म ४–० को आरामदायी अग्रता बनाएको थियो।
दोस्रो हाफमा पनि बार्सिलोनाको आक्रमण रोकिएन। खेलको ६४औँ मिनेटमा यामालले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ५–० पुर्याए। सुरुमा अफसाइडका कारण गोललाई मान्यता नदिइए पनि भिडियो सहायक रेफ्रीको पुनरावलोकनपछि गोल सदर भएको थियो।
खेलको ८१औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका एन्थोनी गोर्डनले गोल गर्दै बार्सिलोनालाई ६–० को अग्रता दिलाए। त्यसको तीन मिनेटपछि आल्भेसका मारियानो डियाजले गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यस जितसँगै बार्सिलोना ११ खेलबाट ३० अंक जोड्दै ला लिगाको शीर्ष स्थानमा फर्किएको छ। दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको २८ अंक छ। पराजित आल्भेस १२ अंकसहित तालिकाको १०औँ स्थानमा रहेको छ।