शनिबार, कात्तिक १४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • झापा, इलामसहित पाँच जिल्लामा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

झापा, इलामसहित पाँच जिल्लामा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

 |  शनिबार, कात्तिक १४, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १४, २०८३

काठमाडौं- कोशी प्रदेशका पाँच जिल्लामा शनिबार र आइतबार बिहान पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले सबस्टेसनका उपकरण परीक्षण तथा सञ्चालनसम्बन्धी काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागेको हो।

प्राधिकरणको कञ्चन–१३२/३३ केभी सबस्टेसन आयोजनाका अनुसार कात्तिक १४ गते शनिबार र कात्तिक १५ गते आइतबार दुवै दिन बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

विद्युत् आपूर्ति बन्द हुने क्षेत्रमा झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण भाग तथा मोरङ जिल्लाको उर्लाबारी, पथरी र आसपासका क्षेत्र रहेका छन्।

दुहबी–टंक १३२ केभी प्रसारण लाइनको कञ्चनस्थित टावर नम्बर ६८ र ६९ को बीचमा डेड इन्ड टावरदेखि टेकअप ग्यान्ट्रीसम्म तार जोड्ने तथा लुप इन लुप आउट गर्ने कामका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार शनिबार अनारभ चक्रवातको प्रभावका कारण काम सुरु हुन नसकेमा आइतबार बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म र सोमबार बिहान ८ बजेदेखि १० बजेसम्म पनि विद्युत् आपूर्ति बन्द हुन सक्नेछ। थप जानकारीका लागि प्राधिकरणको वेबसाइट वा ११५० हटलाइन नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ। काम सम्पन्न भएमा निर्धारित समयअघि नै विद्युत् सेवा सञ्चालन हुन सक्ने प्राधिकरणले जनाएको छ।

प्रकाशित: Oct 31, 2026| 10:00 शनिबार, कात्तिक १४, २०८३