शनिबार, कात्तिक १४, २०८३

हुम्लामा चिसो बढ्यो, जनजीवन प्रभावित

 |  शनिबार, कात्तिक १४, २०८३

दाने बोहरा

दाने बोहरा

शनिबार, कात्तिक १४, २०८३

हुम्ला- उच्च हिमाली हुम्लाको उत्तरी नाम्खा गाउँपालिका सहित जिल्लाको उच्च भागमा रहेका वस्तिको जनजीवन चिसोले प्रभावित भएको छ। यहाँका उच्च क्षेत्रमा हिमपात भएपछि तापक्रम माइनसमा झरेपछि चिसो अत्यधिक बढ्दै गएको हो। शुक्रबार दिउँसोदेखि हुम्लाको माथिल्लो भागमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षाा भइरहेको छ। 

हिमपातले उत्तरी नाम्खा गाउँपालिका—६ को लिमिसहित हिल्सा, न्यालु, यारी, चाला लगायतका गाउँको जनजीवन थप प्रभावित भएको स्थानीयले बताएका छन्। यश क्षेत्रमा बाक्लो हिउँ जमेको हिल्साबाट लामु लामाले जानकारी दिइन्। 

यतिबेला चीनसँगको हिल्सा नाकामा बाक्लो हिउँ जमेको छ। हिउँले एक ठाउँबाट अर्को ठाउँसम्म जान समस्या बनाएको लामाले बताइन्। हिमपातले यहाँका सडकमा हिउँ जमेर सडक समेत अवरुद्ध हुन पुगेको बताइएको छ। 

 यस्तै चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ। जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छ्न। सिमकोटमा चिसो बढेसँगै बालबालिका, वृद्ववृद्वालाई थप समस्या बनाएको यहाँका स्थानीय कमल भण्डारीले बताए। 

सिमकोटका अग्ला पञ्चमुखि, चाङ्ला, सेलुमुकाम लगायतका हिमालपनि हिउँ परेको छ। होचो स्थानमा शनिबार बिहान वर्षा भइरहेको छ, उच्च स्थानमा हिमपात भइरहेको छ। 

वर्षासँगै हिमपातको समयमा जिल्ला प्रशासन कार्यालय हुम्लाले जथाभावी आवतजावत नगर्न अनुरोध गरेको। जिल्लामा वर्षा र हिमपात भइरहेको भएपनि हालसम्म कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

प्रकाशित: Oct 31, 2026| 09:16 शनिबार, कात्तिक १४, २०८३