सल्यान- सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
शुक्रबार साँझ करिब ६: ३५ बजे श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो। दुर्घटनामा १० जना घाइते भएका थिए। उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएकामध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन्।
दुर्घटनामा घाइते हुनेमा सोही गाउँपालिका–२ का २४ वर्षीय देवबहादुर विक, ५८ वर्षीया सुशीला चलाउने, १३ वर्षीया राधिका चलाउने, २२ वर्षीय दीपक रोका र १० वर्षीय युवराज परियार रहेका छन्। त्यस्तै, सिद्ध कुमाख गाउँपालिका–३ का १५ वर्षीय कमल बुढाथोकी र ७ वर्षीया रुपा बुढाथोकी पनि घाइते भएका छन्।
घाइतेमध्ये देवबहादुर विक र कमल बुढाथोकीको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको र केही घाइतेलाई थप उपचारका लागि दाङ र नेपालगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि जिप चालक सिद्ध कुमाख गाउँपालिका–२ का ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिइएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।