मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राजदूत सुनुवाइमा प्रश्न गर्नुअघि अध्ययनका लागि समय चाहिन्छ : सभापति श्रेष्ठ

राजदूत सुनुवाइमा प्रश्न गर्नुअघि अध्ययनका लागि समय चाहिन्छ : सभापति श्रेष्ठ

 |  मंगलबार, असोज २०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०८३

काठमाडौं। संसदीय सुनुवाइ समिति (संयुक्त)का सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूतको सुनुवाइ प्रभावकारी बनाउन समितिका सदस्यलाई पर्याप्त अध्ययनको समय दिनुपर्ने बताएका छन्।

मंगलबार बसेको समितिको बैठकमा उनले उम्मेदवारको बायोडाटा, विगतको कार्यसम्पादन, सम्बन्धित मुलुकको अवस्था र त्यहाँ नेपालको प्राथमिकताबारे अध्ययन गरेपछि मात्र प्रभावकारी प्रश्न गर्न सकिने बताए। उनका अनुसार सुनुवाइमा प्रश्न गर्ने सांसद र जवाफ दिने उम्मेदवार दुवैको तयारी समान रूपमा प्रभावकारी हुन आवश्यक छ।

‘हामीले अध्ययन नगरी त्यो लेभलको प्रश्न डिजाइन गर्न सक्दैनौं। त्यसकारण हामीलाई अध्ययन गर्ने समय चाहिन्छ,’ उनले भने, ‘दुई–तीन दिन नभईकन हामीलाई पनि गाह्रो हुन्छ।’

श्रेष्ठले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइमा एउटै ढाँचाका प्रश्नभन्दा देशको अवस्था र नेपालको सम्बन्धका आधारमा फरक विषय उठाउनुपर्ने बताए। भारत, इजरायल र मलेसियालगायत मुलुकका लागि प्रस्तावित राजदूतको जिम्मेवारी र चुनौती फरक हुने भएकाले उम्मेदवारको योग्यता तथा अनुभव सम्बन्धित मुलुकका लागि कत्तिको उपयुक्त छ भन्ने विषयसमेत मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ।

उनले सांसदले आफूलाई मन लागेको प्रश्न सोध्नेभन्दा उम्मेदवारको पृष्ठभूमि, सम्बन्धित मुलुकको राजनीतिक तथा आर्थिक अवस्था र राजदूतको जिम्मेवारीलाई आधार बनाएर प्रश्न तयार गर्नुपर्ने बताए।

संसदीय सुनुवाइलाई औपचारिकता पूरा गर्ने प्रक्रियाका रूपमा मात्र अघि बढाउन नहुने उनको भनाइ थियो। सुनुवाइको मर्यादा कायम राख्दै प्रक्रियालाई थप रचनात्मक र सिर्जनात्मक बनाउनुपर्ने उनले बताए।

समितिमा परेका उजुरीको अध्ययनमा पनि पर्याप्त समय दिनुपर्ने श्रेष्ठले बताए। उनका अनुसार केही उजुरी सामान्य प्रकृतिका र पर्याप्त प्रमाणबिनाका देखिए पनि केही विषय भने थप अध्ययन तथा छानबिन गर्नुपर्ने प्रकृतिका छन्।

‘उजुरीका विषयमा पनि हामीले गम्भीर भएर अध्ययन गर्नुपर्छ। सबै उजुरी एउटै प्रकृतिका हुँदैनन्,’ उनले भने। आवश्यक देखिएका उजुरीमा थप अध्ययन तथा छानबिन गरेर मात्र समितिले निष्कर्षमा पुग्नुपर्ने उनले बताए।

प्रकाशित: Oct 06, 2026| 16:03 मंगलबार, असोज २०, २०८३
प्रतिक्रिया दिनुहोस्