काठमाडौं- विश्व अल्जाइमर्स दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष सेप्टेम्बर २१ का दिन मनाइँदै आएको अल्जाइमर्स दिवसको यस वर्षको नारा ‘जति छिटो थाहा हुन्छ, त्यति धेरै गर्न सकिन्छ: स्मृतिभ्रंशको पहिचान महत्त्वपूर्ण हुन्छ’रहेको छ।
रोगको पहिचान समयमै गर्ने र यो रोग हुन बढावा दिने मुख्य कारकतत्वलाई समयमै पहिचान गरेर बिर्सिने रोगबाट बच्नका लागि आह्वान गरिएको छ। उक्त दिवस सन् १९९४ देखि मनाउन थालिएको हो। अल्जाइमर्स जसलाई बिर्सिने रोगका रुपमा बुझ्ने गरिन्छ। नेपालमा हाल बिर्सिने रोगबाट एक लाख ११ हजारभन्दा बढी व्यक्ति पीडित रहेको बताइएको छ।
नेपालमा ६५ वर्ष माथि उमेरका ६.५ प्रतिशत व्यक्तिमा विर्सिने रोग लागेको बताइएको छ। विर्सिने रोगीमध्ये ८० प्रतिशतभन्दा बढीमा अल्जाइमर्स हुने विज्ञहरुले बताएका छन्।
विश्वमा हरेक वर्ष एक करोड व्यक्तिलाई अल्जाइमर्स हुने गरेको छ। हाल छ करोडभन्दा बढी व्यक्तिलाई अल्जाइमर्सको समस्या रहेको र विश्वमा हरेक तीन सेकेण्डमा एक व्यक्तिलाई अल्जाइमर्स हुने गरेको आँकडा रहेको छ।
विश्वको तथ्याङ्कअनुसार ६५ वर्षदेखि ७५ वर्षसम्मका पाँच प्रतिशत जनसङ्ख्या, ७५ वर्षदेखि ८५ वर्षसम्मका १३ प्रतिशत र ८५ वर्ष पार गरेका एक तिहाइ व्यक्तिमा अल्जाइमर्स हुने गरेको छ। विश्वको तथ्याङ्कलाई हेर्दा विकसित मुलुकभन्दा अल्पविकसित र अविकसित मुलुकमा बढी अल्जाइमर्सका रोगी देखिएको छ।
बिर्सिने रोगीमध्ये ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन्। अल्जाइमर्सका बिरामी वार्षिक नेपालका प्रत्येक अस्पतालमा एक सयभन्दा बढी जाने गरेको बताइन्छ। सम्झना शक्तिमा विस्तारै ह्रास आउने र सामान हराउने वा बिर्सने, आफू परिचित ठाउँमा पनि हराउने र बाटो बिर्सने/बिराउने, कुनै पनि कामको योजना गर्ने शक्तिमा असक्षमता, पहिले राम्रोसँग गर्नसक्ने कामजस्तै, बोल्ने, लेख्ने, पढ्ने काममा समस्या र व्यक्तित्वमा परिवर्तन विस्मृति अर्थात् बिर्सिने रोगका लक्षण हुन्।
विश्वभर अल्जाइमर्स रोगको पूर्णरुपमा उपचार नभए पनि यसबाट आउने सम्बन्धित समस्याजस्तै, बैचैनी, डिप्रेसन, शङ्का गर्ने प्रवृत्तिलाई उपचार गरेर ठिक हुने चिकित्सकहरुले बताएका छन्। त्यसैगरी प्रारम्भिक चरणमा यो रोग पहिचान भएमा स्मरणशक्ति सुधार गर्ने, विभिन्न औषधि प्रयोग गरेर बिरामीको स्मरणशक्ति सुधार्न सकिने चिकित्सक बताउँछन्।
बिरामीको हेरचाह गर्न परिवारको व्यक्तिलाई विभिन्न व्यवहारिक ज्ञान प्रदान गरी सहयोग गर्न सकिन्छ। यो रोगबाट पीडितलाई परिवार, समाज तथा मुलुकले नै चासो दिएर ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप बाँच्ने अधिकारको प्रत्याभूति गराउन आवश्यक देखिएको छ।