सोमबार, असोज ५, २०८३

चाडबाड नजिकिँदै गर्दा भोजपुरमा बजार अनुमगन तीव्र

 |  सोमबार, असोज ५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०८३

भोजपुर- भोजपुरका बजारमा मासु तथा माछा पसलको आकस्मिक अनुगमन गरिएको छ। उपभोक्तालाई स्वच्छ र गुणस्तरीय वस्तु उपलब्ध गराउने उद्देश्यका साथ स्थानीय प्रशासन तथा सरोकारवाला निकायको संयुक्त टोलीले बजारका विभिन्न १० मासु पसलमा अनुगमन गरेको जनाएको छ।

अनुगमनका क्रममा मापदण्डविपरीत अस्वस्थकर मासु बिक्रीका लागि राखिएको भेटिएको थियो।  बजारस्थित ‘दाजुभाई माछा पसल’ मा सडेको र गन्ध आइसकेको अवस्थामा भेटिएको १७ किलो ४४५ ग्राम माछा जफत गरी तत्काल नष्ट गरिएको छ।

भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार चाडपर्वको समयमा माग बढ्ने भएकाले अस्वस्थकर माछा-मासु बिक्री हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर अनुगमन गरिएको हो। 'उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने छुट कसैलाई छैन', उनले भने, 'छड्न अनुगमनका क्रममा भेटिएका अस्वस्थकर वस्तुलाई स्थलगत रूपमै नष्ट गरेका छौँ। त्योसँगै पसललाई आवश्यक सुझावसमेत दिएका छौँ।'

अनुगमन टोलीमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका डा देवकुमार दर्लामीसहितको प्राविधिक तथा विज्ञ समूहको सहभागिता रहेको थियो। बजार अनुगमनका क्रममा डा.दर्लामीले अघिल्ला अनुगमनहरूमा दिइएका सुझावका आधारमा केही मासु व्यवसायीहरूले सरसफाइ र गुणस्तरमा सुधार गरेको पाइएको बताए। यद्यपि, अझै पनि केही पसलहरूमा दर्ता नवीकरण, पसलको सरसफाइ र मूल्यसूची टाँस जस्ता विषयमा कमीकमजोरी देखिएकाले सुधार गर्न कडा निर्देशन दिइएको छ।

चाडपर्वको मौका छोपेर सर्वसाधारणलाई अस्वस्थकर खाद्यवस्तु बिक्री गर्ने, कालोबजारी गर्ने वा तोकिएकोभन्दा बढी मूल्य लिने जस्ता गतिविधि रोक्न बजार अनुगमनलाई आगामी दिनमा अझ तीव्र र निरन्तर बनाइने अनुगमन टोलीले जनाएको छ। खरिद गर्दा ताजा र गुणस्तरीय वस्तु मात्र रोज्न र शंकास्पद देखिएमा सम्बन्धित निकायमा खबर गर्न उपभोक्तालाई आग्रह गरिएको छ।  

भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरको आयोजना गरिएको छड्ने अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, भोजपुर नगरपालिका पशु सेवा शाखा तथा सरोकारवालाको उपस्थिति थियो। 

प्रकाशित: Sep 21, 2026| 10:31 सोमबार, असोज ५, २०८३
प्रतिक्रिया दिनुहोस्