आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रोबोटिक शल्यक्रियादेखि नयाँ प्रविधिसम्म, काठमाडौंमा अन्तर्राष्ट्रिय स्त्रीरोग सम्मेलन

रोबोटिक शल्यक्रियादेखि नयाँ प्रविधिसम्म, काठमाडौंमा अन्तर्राष्ट्रिय स्त्रीरोग सम्मेलन

 |  आइतबार, असोज ४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०८३

काठमाडौं । नेपाल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपी (एनएसजीई) ले इन्टरनेशनल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपी (आईएसजीई) को सहकार्यमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। शनिबार काठमाडौंमा आयोजित सम्मेलनमा स्त्रीरोग उपचारमा प्रयोग भइरहेका आधुनिक प्रविधि, न्यूनतम चिरफारमा आधारित शल्यक्रिया तथा रोबोटिक शल्यक्रियाबारे विशेषज्ञबीच छलफल र अनुभव आदानप्रदान गरिएको हो।

सम्मेलनलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्य मन्त्री प्रा. डा. सुधा शर्माले पछिल्लो समय चिकित्सा क्षेत्रमा सुपर स्पेसियालिटी र सब स्पेसियालिटीको भूमिका बढ्दै गएको बताइन्। नेपालको स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि पनि यस्ता विशेषज्ञता आवश्यक रहेको उनको भनाइ थियो।

उनले गुणस्तरीय क्लिनिकल केयरलाई प्राथमिकता दिँदै स्वास्थ्य सेवाको वर्तमान अवस्थालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक रहेको बताइन्। बदलिँदो चिकित्सा प्रविधिसँगै चिकित्सक तथा स्वास्थ्य संस्थाले आफ्नो क्षमता र विशेषज्ञता विस्तार गर्नुपर्नेमा उनले जोड दिइन्।

सोसाइटीका अध्यक्ष प्रा. डा. गणेश दङ्गालले सम्मेलनका क्रममा पहिलोपटक रोबोटिक शल्यक्रियाको प्रदर्शन तथा तालिम गरिएको जानकारी दिए। उनका अनुसार नेपालमा आयोजना भएको अन्तर्राष्ट्रिय स्त्रीरोगसम्बन्धी सम्मेलनमा रोबोट सहायता प्राप्त शल्यक्रियासम्बन्धी तालिम आधिकारिक रूपमा प्रदर्शन गरिएको यो पहिलो अवसर हो।

मुख्य सम्मेलनअघि चिकित्सकहरूका लागि विभिन्न प्रि–कंग्रेस कार्यशाला समेत सञ्चालन गरिएको थियो। सेप्टेम्बर १६ मा चितवन मेडिकल कलेजमा रोबोटिक शल्यक्रियासम्बन्धी कार्यशाला आयोजना गरिएको थियो।

त्यस्तै, सेप्टेम्बर १७ र १८ मा काठमाडौं मोडल अस्पतालमा अडभान्स हिस्टेरोस्कोपी र अडभान्स ल्याप्रोस्कोपीसम्बन्धी तालिम सञ्चालन गरिएको थियो। सेप्टेम्बर १८ मा सोही अस्पतालमा भीएनओटीईएस अर्थात् भ्याजाइनल नेचुरल ओरिफिस ट्रान्सलुमिनल इन्डोस्कोपिक सर्जरीसम्बन्धी कार्यशाला पनि आयोजना गरिएको आयोजकले जनाएको छ।

शनिबार भएको मुख्य सम्मेलनमा नेपालका विभिन्न स्थानबाट ३०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी भएका थिए। त्यसैगरी करिब १०० जना अन्तर्राष्ट्रिय विशेषज्ञ चिकित्सक प्रत्यक्ष तथा अनलाइन माध्यमबाट सम्मेलनमा सहभागी भएको आयोजकले जनाएको छ।

सम्मेलनमा स्त्रीरोग उपचारमा प्रयोग भइरहेका न्यूनतम चिरफारमा आधारित शल्यक्रियाका पछिल्ला प्रविधि, रोबोटिक शल्यक्रिया, ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी तथा अन्य आधुनिक उपचार विधिबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए।

चिकित्सकहरूबीच नयाँ प्रविधिको प्रयोग, उपचारका अनुभव तथा ज्ञान आदानप्रदानसँगै नेपालमा आधुनिक स्त्रीरोग उपचारलाई थप विस्तार र प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको आयोजकले जनाएको छ।

प्रकाशित: Sep 20, 2026| 21:00 आइतबार, असोज ४, २०८३
प्रतिक्रिया दिनुहोस्