काठमाडौं। नेपाली महिला तथा युवतीलाई प्रलोभनमा पारी भारत लगेर शोषण गर्ने गरेको समाचार सार्वजनिक भएपछि सरकारले छानबिन प्रक्रिया अघि बढाएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरी सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई छानबिन गर्न निर्देशन दिएको जनाएको छ।
मन्त्रालयका अनुसार झुटा आश्वासन र प्रलोभनमा बिचौलियामार्फत भारत लैजाने घटनामा संलग्न व्यक्ति, संस्था तथा सम्भावित सञ्जालबारे अनुसन्धान गरिनेछ। संलग्नता पुष्टि भए कानुनअनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सामाजिक सञ्जालबाट आउने आकर्षक रोजगारी, उच्च आम्दानी, विवाह तथा विदेश यात्रासम्बन्धी प्रस्तावमा सतर्क रहन आग्रह गर्दै राहदानी, नागरिकता, बैंक विवरणलगायत व्यक्तिगत कागजात अपरिचित व्यक्ति वा बिचौलियालाई नदिन पनि अनुरोध गरेको छ।
सम्भावित पीडितको उद्धार, संरक्षण, सुरक्षित घरफिर्ती र पुनःस्थापनालाई समेत प्राथमिकतामा राखिने मन्त्रालयले जनाएको छ।