आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ९ स्थानीय तहको सहकार्यमा काठमाडौं उपत्यकामा ६ रुटमा ३० रात्रीकालीन बस सञ्चालन

९ स्थानीय तहको सहकार्यमा काठमाडौं उपत्यकामा ६ रुटमा ३० रात्रीकालीन बस सञ्चालन

 |  आइतबार, असोज ४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०८३

काठमाडौं- काठमाडौं उपत्यकाका नौ स्थानीय तहले सहकार्य गरेर रात्रीकालीन बस सेवा विस्तार गरेका छन्। काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा संविधान दिवसदेखि ६ वटा रुटमा ३० वटा बस सञ्चालनमा ल्याइएको हो।

काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आवद्ध भएका छन्। काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर वैशाख १ गतेबाट सुरु परीक्षणका रुपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तहहरु साझा कार्यक्रममा आवद्ध भएका हुन्। 

रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्य सहित संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरुले साझा यातायातसँग समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्ने महानगरपालिका र नगरपालिकाहरुमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरी नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमी नगरपालिका छन्। यसमा साझा यातायातका तर्फबाट अध्यक्ष शुशिलराज प्याकुरेलले हस्ताक्षर गरेका छन्। 

सेवाअन्तर्गत जगाती–सूर्यविनायक–ठमेल, लगनखेल–गोदावरी–बुढानीलकण्ठ, चक्रपथ, कीर्तिपुर–जमल, टाखेल–ठमेल तथा नागढुंगा–विमानस्थल रुटमा बस सञ्चालन हुनेछन्। यसअघि लगनखेल–बुढानीलकण्ठ र नागढुंगा–विमानस्थल रुटमा सातवटा बसमार्फत राति ८ बजेदेखि ११ बजेसम्म परीक्षण सेवा सञ्चालन गरिएको थियो।

विस्तारित सेवाअन्तर्गत जगाती-सूर्यविनायक हुँदै ठमेलसम्म ६ वटा, साविक लगनखेल–बुढानीलकण्ठलाई विस्तार गरी गोदावरीसम्म ६ वटा, रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा ८ वटा, कीर्तिपुर-जमलमा ४ वटा, टाखेल–ठमेलमा २ वटा तथा साविक नागढुङ्गा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन गरिनेछ। यसअघि लगनखेलदेखि बुढानीलकण्ठ तथा नागढुङ्गादेखि एयरपोर्टसम्म राति ८ बजेदेखि ११ बजेसम्म सातवटा बसमार्फत नमूना सेवा सञ्चालन गरिएको थियो। सेवाको प्रभाव तथा मूल्याङ्कन, लाभलागत विश्लेषणका आधारमा नाफाघाटाभन्दा सेवा ठुलो कुरा भएको निष्कर्ष निकालिएको थियो। रात्रीकालीन बस सञ्चालनमा लाग्ने खर्च यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले धान्न नसकेमा त्यसबाट अपुग हुने रकमको ५० प्रतिशत सम्बन्धित सातवटा नगरपालिकाले समान रूपमा व्यहोर्ने र बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसङ्याका आधारमा काठमाडौँ महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८.५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले व्यहोर्ने सहमति गरिएको छ। सेवा सञ्चालन गर्न खर्च नपुग भए साझा यातायातले त्रैमासिक रूपमा माग गर्ने सहमतिमा उल्लेख छ।

चक्रपथमा बस परिवर्तन गरेर यात्रा गर्दा अधिकतम ८० रुपैयाँ भाडा लाग्ने जनाइएको छ। सेवाले रातको समयमा अस्पताल, विमानस्थल, बजार तथा अन्य अत्यावश्यक स्थानमा आवतजावत गर्ने सर्वसाधारणलाई सहज र सुरक्षित सार्वजनिक यातायात उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रकाशित: Sep 20, 2026| 13:44 आइतबार, असोज ४, २०८३
प्रतिक्रिया दिनुहोस्