सप्तरी- सप्तरीबाट प्रहरीले करिब १४ सय किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
डाक्नेश्वरी नगरपालिका–६ स्थित कटैया गाउँमा गएराति करिब पौने १ बजे भोला सदाको घरमा खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा बरामद भएको हो। घरमा ठूलो परिमाणमा गाँजा लुकाएर राखिएको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले सदाको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा ५६ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा करिब १४ सय किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। गाँजासहित पक्राउ परेका सदालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी लगिएको छ।
सीमावर्ती गाउँ भएकाले बरामद गाँजा भारततर्फ लैजानका लागि लुकाएर राखिएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।