उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्थानीय ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नै ४५ वर्षीया श्रीमती बिमला राईको गर्दनमा सिकल प्रहार गरेका थिए।
घाइते बिमलालाई प्रहरीले तत्काल नगर अस्पताल बेल्टार पुर्याएको थियो। उपचारका क्रममा राति १ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि गन्दु राम आफैं माडीबासस्थित अस्थायी प्रहरी चौकीमा पुगेर घटनाबारे जानकारी गराएका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।