काठमाडौं- शुभश्री कलेज अफ म्यानेजमेन्टले नेपाल प्रहरी सशस्त्र गण नम्बर-१ सँगको सहकार्यमा प्रहरी कर्मचारीहरूका लागि सञ्चालन गरेको ६ दिने 'कुकिङ सीप विकास कार्यशाला' सफलतापूर्वक सम्पन्न भएको छ।
दुई चरण (गत साउन १५ देखि १७ र साउन २२ देखि २४ सम्म) गरी सञ्चालन गरिएको उक्त विशेष तालिममा १६ जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।
प्रहरी कर्मचारीहरूको व्यावहारिक र व्यावसायिक सीप विकास गर्ने उद्देश्यले आयोजित यस कार्यशालामा 'कुकिङ'का आधारभूत सिद्धान्त, व्यावसायिक रूपमा खाना तयारी गर्ने विधि, खाना सजाउने तथा पस्कने कला, खाद्य तथा पेय पदार्थ सेवा र कफी बनाउने आधारभूत ब्यारिस्टा सीप सम्बन्धी व्यावहारिक प्रशिक्षण दिइएको थियो।
भान्साको सीप विकास मात्र नभई सिकाईमार्फत आत्मविश्वास बढाउने, नयाँ अवसरहरू सिर्जना गर्ने र समाजमा अर्थपूर्ण योगदान पुर्याउने बृहत् लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ।
कक्षाकोठा बाहिरको शिक्षा र संस्थागत सामाजिक उत्तरदायित्व प्रति प्रतिबद्ध रहँदै समाजलाई दक्ष जनशक्ति र ज्ञान हस्तान्तरण गर्ने कलेजको नीति अनुरूप यो पहल गरिएको हो। तालिमको समापन अवसरमा आयोजित प्रमाणपत्र वितरण समारोहमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक अपिलराज बोहरा, शुभश्री कलेजकी प्रिन्सिपल मनिता ओली र प्रबन्ध निर्देशक तरुण प्रताप शाहको उपस्थिति रहेको थियो।
समारोहमा बोल्दै अधिकारीहरूले यस तालिमले प्रहरी कर्मचारीहरूमा नयाँ व्यावसायिक अवसर र क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। 'सिकाई, सीप, सेवा र प्रभाव' भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमले राष्ट्र सेवामा खटिएका प्रहरी कर्मचारीहरूको आत्मबल बढाउन थप मद्दत पुर्याएको कलेज प्रशासनले उल्लेख गरेको छ।



