काठमाडौं- बाढी र पहिरोका कारण देशका विभिन्न खण्डमा मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान ६ बजेसम्म संकलन गरेको विवरण अनुसार कतिपय स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही क्षेत्रमा एकतर्फी तथा आंशिक रूपमा यातायात सञ्चालन गरिएको छ।
बागमती प्रदेशअन्तर्गत बि.पी. राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखी साँझ ७ देखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी मात्र सञ्चालन गर्न दिइएको छ। अन्य सवारी साधनको हकमा भने बिहान ४ देखि साँझ ७ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र आवतजावत खुलाइने व्यवस्था गरिएको छ।
यस्तै, रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा बन्द भएका छन्। नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा बाढी–पहिरोको जोखिमका कारण राति १० देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने विदुर–१० सिमटारस्थित पसाङ ल्हामु सडकखण्ड बाढीले पूर्ण अवरुद्ध छ। धादिङको बेनीघाट रोराङस्थित जवाङखोला र शीतल बजार खण्डमा खसेको पहिरो पन्छाएर पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ।
कोशी प्रदेशको मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–७ झोलुङ्गेपुल नजिक खसेको पहिरो हटाई यातायात एकतर्फी खुलाइएको छ।
उता गण्डकी प्रदेशमा पर्ने चामे–बेंसीसहर सडकखण्डको नासों गाउँपालिका–३ खोत्रोमा पहिरो जाँदा सडक पूर्ण रूपमा ठप्प बनेको छ। त्यस्तै कर्णाली प्रदेशको हुम्लास्थित कर्णाली कोरिडोरको सर्केगाड–६ खरीखेतमा पहिरो खस्दा आवतजावत पूर्ण रूपमा अवरुद्ध हुन पुगेको छ।
प्रहरीले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी रहेको जनाउँदै जोखिमयुक्त सडकखण्डमा यात्रा गर्दा स्थानीय प्रशासन वा प्रहरीसँग सडकको पछिल्लो अवस्थाबारे बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।