काठमाडौं- काठमाडौं उपत्यकाभित्र संघीय सडकमा देखिएका समस्या तथा बिग्रिएका सडकको मर्मतसम्बन्धी गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याइएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। अब नागरिकले एपमार्फत सडक मर्मतसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सक्नेछन्।
दर्ता गरिएको गुनासोको अवस्था र समाधान प्रक्रिया एपमार्फत हेर्न सकिनेछ भने गुनासो सम्बोधन भएपछि त्यसको जानकारीसमेत प्राप्त हुनेछ।
हाल उपत्यकाभित्र संघीय सडकअन्तर्गतका करिब ४ सय ७२ किलोमिटर सडकबारे गुनासो तथा सुझाव दिन सकिने व्यवस्था गरिएको छ। संघीय सडकअन्तर्गत नपर्ने सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारी पनि एपमार्फत उपलब्ध गराइनेछ।
एपलाई आगामी दुई साताभित्र ललितपुर र भक्तपुरमा विस्तार गर्ने तथा क्रमशः देशभर सञ्चालनमा ल्याउने तयारी गरिएको सडक डिभिजन काठमाडौंले जनाएको छ।