काठमाडौं- काराबाओ कपको तेस्रो चरणमा म्यानचेस्टर युनाइटेडले दुई गोलको अग्रता गुमाउँदै ब्राइटनसँग ३-२ को हार बेहोरेको छ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा युनाइटेडले सुरुवातमै दुई गोल गरे पनि दोस्रो हाफमा ब्राइटनले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम १६ मा स्थान बनाएको हो। यो हारसँगै युनाइटेडका लागि घरेलु कप प्रतियोगितामा लगातार तेस्रो चरणमै निराशाजनक नतिजा आएको छ। अघिल्लो सिजनको काराबाओ कपमा युनाइटेड चौथो श्रेणीको ग्रिम्स्बी टाउनसँग पराजित भएको थियो भने एफए कपमा पनि ब्राइटनसँग पराजित भएको थियो।
बुधबारकै अन्य खेलमा एभर्टनले उल्भरह्याम्पटनलाई १–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ। त्यस्तै, फ्लीटवुड टाउनले शेफिल्ड युनाइटेडलाई १–० ले हराउँदै अर्को चरणमा प्रवेश गरेको छ। कोभेन्ट्री सिटीलाई ३–१ ले हराउँदै एस्टन भिल्लाले पनि अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।