बुधबार, भदौ ३१, २०८३

घ्याप्चेको पहिरो: जोखिममा रामेछाप सदरमुकाम मन्थली

 |  बुधबार, भदौ ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०८३

रामेछाप- रामेछापको रणजोर खोलाको सिरमा रहेको घ्याप्चेको पहिरोको कारण मन्थली नगरपालिका गैराथोक, सामलिस्थान अर्चले, सुनारपानी, मन्थली लगायतका क्षेत्रमा ठुलो क्षति पुगेको छ। 

हिउँद होस् या वर्खा सधैँ पहिरो जाने घ्यप्चेमा पानी पर्दा होस् वा घाम चर्कँदा पहिरो गएकै हुन्छ। घ्याप्चेमा दैनिक जाने पहिरोले आसपासको क्षेत्रमा धुलो उडिरहेकै हुन्छ। रामेछापको सदरमुकाम मन्थली छेउबाट बग्ने रणजोर खोलाको सिर हो घ्याप्चे। 

घ्याप्चेमा गएको पहिरो रणजोर खोलाले बगाएर मन्थली हुँदै तामाकोसी नदीमा पुर्‍याउँछ। घ्याप्चेमा वर्षामा भन्दा हिउँदमा बढी सुक्खा पहिरो जान्छ। हिउँद महिनामा पहिरिएर जम्मा भएको ढुङ्गामाटो वर्षा याममा खोलाले बगाउने गर्दछ। रणजोर खोलामा वर्षामा पानी होइन लेदो माटो बग्छ।

रामेछापबाट निर्वाचित पूर्वसांसद तथा भूगोलका विज्ञ देवशंकर पौडेलका अनुसार यो पहिरो विसं १९७२ सालदेखि जान सुरु भएको थियो। बिचमा पहिरो जाने रोकिने गर्दै आएको घ्याप्चे विसं २०११ सालदेखि भने लगातार पहिरिँदै आएको छ।

२०११ सालदेखि गएको यो भीषण पहिरोले गैराथोक, अर्चले, सामलिस्थान र मन्थली घाट लगायत क्षेत्रका कयौँ बस्ती उठाइसक्यो। गैराथोकदेखि मन्थलीको तामाकोसी किनारसम्मको तटीय क्षेत्रको सयौँ रोपनी खेत पहिरोले बगाउने र पुर्ने काम गरिसकेको छ। यसले लाखौँ मुरी धान फल्ने खेत बिगारी सकेको छ, धेरै बस्ती नै उठाएको छु, पौडेलले भने। 

पहिरोले गैराथोक र सामलिस्थानका बस्तीमा सबैभन्दा बढी क्षति पुर्याएको छ। ती बस्तीहरू बस्नै नमिल्ने जोखिमपूर्ण अवस्थामा पुगेका छन्। हरेक पटक पहिरो जाँदा ती बस्ती थर्कने र घरहरू चर्कने क्रम जारी छ। गैराथोक र सामलिस्थानका बस्तीका घरहरू बर्सेनि खोलातिर ढल्कँदै गएका छन्। खोलातिर जमिन धसिँदै गएको छ। 

केही वर्ष यता सदरमुकाम मन्थलीमा रणजोर खोला किनारमा अस्वाभाविक रूपमा बस्ती विस्तार हुँदै गएको छ। विगतमा खोला हिँडेको ठाउँमा अहिले बजार बनेको छ। खोलाको पहिरो र बाढी उर्लिएर आउँदा कुनै पनि बेला बाढी पस्ने र ठुलो क्षति पुर्‍याउने जोखिम छ। 

त्यति मात्र होइन रणजोर खोलाको लेदोले तामाकोशी नदी थुन्यो भने नदीमा ठुलो ड्याम बनेर मन्थलीको आकाशे, हाटेचौर लगायतको क्षेत्रमा समेत क्षति पुर्‍याउने जोखिम छ। पहिरो रोकथाम र नियन्त्रणको लागि कुनै पनि निकायको ध्यान पुगेको छैन।

प्रकाशित: Sep 16, 2026| 11:23 बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्