बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सर्लाहीमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

 |  बुधबार, भदौ ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०८३

सर्लाही- सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन्।

कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा मधेस प्रदेश०३–०३३प ७८२४ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको बिआर३०एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल मङ्गलबार साँझ ठोक्किएको थियो। दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र १२२४ नम्बरका मोटरसाइकल चालक सर्लाहीको कबिलासी–८ का २६ वर्षका पप्पु पासवानको मृत्यु भएको हो। 

दुर्घटनापछि गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
 
यसैबीच सोही घटनामा परेर गम्भीर घाइते १२२४ नम्बरको मोटरसाइकलमा सवार सर्लाहीको कबिलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवानको अनुहार, टाउको र खुट्टामा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर पठाइएको छ। 

तीव्र गतिका कारण दुवै मोटरसाइकल आपसमा ठोक्किएको हो। प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित: Sep 16, 2026| 06:31 बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्