मंगलबार, भदौ ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • धनुषामा १५ महिनाका बालकको अपहरणपछि ११ दिनमा उद्धार, महिला पक्राउ

धनुषामा १५ महिनाका बालकको अपहरणपछि ११ दिनमा उद्धार, महिला पक्राउ

 |  मंगलबार, भदौ ३०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०८३

धनुषा। धनुषाको विदेह नगरपालिका–६, तीनकौरियाबाट हराएका १५ महिनाका बालक सिद्धान्त महतोलाई प्रहरीले ११ दिनपछि सकुशल उद्धार गरेको छ। बालकलाई अपहरण गरी नेपाल तथा भारतका विभिन्न स्थानमा लुकाउँदै राखेको आरोपमा प्रहरीले एक महिलालाई समेत पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ १८ गते अपराह्न करिब ४: ४० बजे कमलेश महतोका १५ महिनाका छोरा सिद्धान्त घरको आँगनमा खेलिरहेका बेला हराएका थिए। बालक हराएको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल परिचालन गरी खोजतलास सुरु गरिएको थियो।

प्रहरी उपरीक्षक रुपेश खड्काको नेतृत्वमा ६० जनाको प्रहरी टोली घटनास्थल तथा आसपासका क्षेत्रमा परिचालन गरिएको थियो। खोजीका क्रममा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको प्रहरीले जनाएको छ। साथै जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालयबाट परिचालित सूचना विश्लेषण तथा अनुसन्धान टोलीले समेत खोजी तथा अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा बालकलाई धनुषाको कमला नगरपालिका–९ हथलेट्वा बस्ने करिब ४१ वर्षीया पुनिता देवी पासवानले अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा पासवानले बालकलाई ठाउँ परिवर्तन गर्दै नेपाल तथा भारतका विभिन्न स्थानमा लुकाइछिपाई राखेको पाइएको थियो।

बालकको खोजीका लागि जिल्लाका सम्पूर्ण नाकामा चौबीसै घण्टा प्रहरी परिचालन गर्नुका साथै प्राविधिक अनुसन्धानलाई समेत अघि बढाइएको थियो। त्यसक्रममा भदौ २९ गते अपराह्न करिब ३:३५ बजे शंकित महिलाले बालकलाई उनको घरबाट करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भागेको अवस्थामा प्रहरीले फेला पारी तत्काल उद्धार गरेको थियो। स्वास्थ्य परीक्षणपछि बालकलाई अभिभावकको जिम्मा लगाइएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बालकलाई छाडेर भागेकी पासवानलाई सोही दिन अपराह्न ३:४५ बजे भारततर्फ भाग्दै गरेको अवस्थामा धनुषाको विदेह नगरपालिका–१, महिनाथपुरस्थित दशगजा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन र ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: Sep 15, 2026| 18:05 मंगलबार, भदौ ३०, २०८३
प्रतिक्रिया दिनुहोस्