मंगलबार, भदौ ३०, २०८३

यी नदीमा बाढीको सम्भावना, सतर्क रहन आग्रह

 |  मंगलबार, भदौ ३०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०८३

काठमाडौं- बाढी पूर्वानुमान महाशाखाले कोशी, नारायणी, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूमा जलसतह बढ्ने बताएको छ। महाशाखाले आगामी तीन दिनसम्म अधिकांश प्रमुख नदीमा जलसतह बढ्ने सम्भावना रहेको बताएको छ।

पूर्वानुमानअनुसार कोशीअन्तर्गत सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीलगायत नदीमा आज, भोलि र पर्सि जलसतह उल्लेख्य बढ्ने सम्भावना छ। नारायणीअन्तर्गत नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती तथा कालीगण्डकीलगायत नदीमा पनि तीन दिनसम्म जलसतह उल्लेख्य बढ्ने अनुमान गरिएको छ।

कर्णाली नदी प्रणालीअन्तर्गत कर्णाली, कर्णाली–असाराघाट, भेरी र पश्चिम सेतीमा जलसतह सामान्य रूपमा बढ्ने पूर्वानुमान छ। महाकालीअन्तर्गत महाकाली नदी, कन्काईअन्तर्गत कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती तथा बबई नदीमा पनि जलसतह सामान्य रूपमा बढ्ने सम्भावना रहेको केन्द्रले जनाएको छ।

महाशाखाका अनुसार आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र आसपासका जिल्लामा बग्ने स–साना नदीमा बहाव उल्लेख्य बढ्न सक्नेछ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमसमेत रहेको पूर्वानुमान गरिएको छ।

भोलि सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेश भएर बग्ने केही स–साना नदीमा बहाव अचानक बढ्न सक्ने केन्द्रले जनाएको छ। पर्सि भने कोशी र मधेश प्रदेश भएर बग्ने केही स–साना नदीमा बहाव अचानक बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखालेले नदी तथा खोलानालाको आसपास बसोबास गर्ने र यात्रा गर्ने सर्वसाधारणलाई जलसतह तथा बहावमा हुने परिवर्तनप्रति सतर्क रहन आग्रह गरेको छ। विशेषगरी आज उल्लेख गरिएका पहाडी तथा आसपासका जिल्लामा स–साना नदी र खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।

प्रकाशित: Sep 15, 2026| 09:35 मंगलबार, भदौ ३०, २०८३
प्रतिक्रिया दिनुहोस्