काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले चिलिमे क्षेत्रमा सुरुङ खन्ने काम तीव्र रूपमा अघि बढिरहेको बताएका छन्।
उनका अनुसार नेपाली सेनाको टोलीले भारी उपकरणबाट करिब ८० मिटर र हातैले थप ५० मिटर खन्ने काम पूरा गर्दै अगाडि बढिरहेको छ। सुरुङको माथिल्लो भागमा पानी रहेको जानकारी प्राप्त भएकाले पानी निकासको प्रभावकारी व्यवस्थापनसहित आजै गन्तव्यमा पुग्ने लक्ष्य राखिएको उनले बताएका छन्।
सुरुङभित्र कामका चरण फरक भएकाले खनिएको दूरीमा पनि फरक देखिएको सांसद न्यौपानेले स्पष्ट पारेका छन्। उनका अनुसार माथिल्लो भागमा सेनाले हातैले १०५ मिटरभन्दा बढी खनेको छ भने उत्खनन उपकरणबाट ८० मिटरभन्दा बढी सुरुङ खनिएको छ। तल्लो भागमा जमेको लेदो हटाएर ७० मिटरभन्दा बढी सफा गरिएको छ।
चिलिमेको सुरुङमा उद्धारको लागि नेपाली सेना, भारतीय सेना, आयोजनाका प्राविधिकसहितको टोलीले संयुक्तरुपमा काम गरिरहेको छ।