काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार विहान ११ बजेसम्म १३ सय ९२ जनाको शव फेला परेको छ।
जसमध्ये रसुवामा १८६ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ३९२ जनाको शव फेला परेको हो।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८५३ गरी कुल ३ हजार १३९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको १ हजार ३५४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ७८१ जना व्यक्तिहरूलाई राखिएको छ।