काठमाडौं- काठमाडौंमा खाना पकाउने ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले ग्यास विक्रेता तथा वितरकलाई ग्यास प्राप्त हुनासाथ उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ।
प्रशासनले काठमाडौं जिल्लाभर सघन अनुगमन भइरहेको जनाउँदै सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिए कारबाही गर्ने चेतावनी दिएको छ। ग्यास लुकाएर वा भण्डारण गरेर बिक्री नगरेको पाइए तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ।
ग्यास लुकाएको वा भण्डारण गरेर बिक्री नगरेको सूचना भए जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३३८३२२ मा जानकारी गराउन प्रशासनले उपभोक्तालाई आग्रह गरेको छ।