आइतबार, भदौ २८, २०८३

आज तिजको दर खाने दिन

 |  आइतबार, भदौ २८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०८३

काठमाडौं- आज तीजको दर खाने दिन। नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ।

हरितालिका तीजमा नाँच गान गर्नका लागि आज राती १२ बजे अघि नै महिलाहरुले दर खाने गर्दछन्। आज राती मिठा मिठा परिकार बनाएर खाने चलन रहेको छ। अझ माइती पुगेकी चेलीलाई आमाबुवा दाजुभाईले खीर, काक्रोसहित फलफूलहरु खुवाउने चलन छ। त्यसपछि भोली हरितालिका तीजका लागि निराहर ब्रत बस्ने चलन रहदैँ आएको छ।

नीराहार व्रतका लागि दर

तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुले शक्ति प्राप्तिका लागि मीठामीठा एवं आडिलो परिकार दरका रुपमा खाई बिहीबारको व्रतका लागि पूर्वतयारी गर्छन्। विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन्। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको छ।

महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन्। तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन्। जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन्।

विकृति बन्दै तीजको संस्कृति

पछिल्ला वर्षहरुमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ। एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको देखिएको छ।

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीले जोड दिएका छन्। एक महिनाअघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीयरुपमा दर खाने दिनका लागि तोकिएको छ।

दरसँगै सुरु हुँदै चार दिने तीज

आइतबार दर खाएपछि औपचारिकरुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ। तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन्।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्। यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ। हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेको छ।

प्रकाशित: Sep 13, 2026| 08:01 आइतबार, भदौ २८, २०८३
प्रतिक्रिया दिनुहोस्