काठमाडौं- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभई सरकारको कार्यशैलीमा सुधारका लागि भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले जेनजी आन्दोलन संस्कार परिवर्तन, र सरकारको कार्यशैली परिवर्तनका लागि भएको बताएका हुन्।
उनले भने- 'जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो। संस्कार परिवर्तनको निमित्ति थियो। सरकारको शैली परिवर्तन गर्नका लागि थियो। सुशासनको निम्ति थियो। विधिविहीन र दण्डविहीनताको अन्त्यका लागि थियो।'
नेता केसीले देशमा अहिले मलको हाहाकार र ग्यासको हाहाकार भएकै बेला प्रकृति प्रकोपले सबैलाई एकाकार बनाएको बताउदै यस विपद्लाई एकै ठाउँमा उभिएर समस्या समाधान गर्नुपर्ने बताए।
उनले भोटेकोशी बाढीबाट प्रभावितहरूको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारसँग आग्रह गर्दै नुवाकोटमा कनेक्टिभिटी सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।