काठमाडौं- अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सोमबार जित हात पारेको छ।
एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन तथा केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा अन्नपूर्णले मधेस वारियर्सलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा पराजित ग¥यो।
अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए। उनी लगातार दोस्रो पटक ‘म्यान अफ द म्याच’ बनेका हुन्। काठमाडौँ रेड्स विरुद्ध पनि उनी ‘म्यान अफ द म्याच’ बनेका थिए।
३ खेलमा अन्नपूर्णको दोस्रो जित हो। आफ्नो दोस्रो खेलमा अन्नपूर्णले काठमाडौँ रेड्सलाई ३–० को सोझो सेटमा हराएको थियो। पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसँग ३–१ ले चुकेको थियो।
मधेस भने हालसम्म जितविहीन छ। मेधशले पनि ३ खेल खेलिसकेको छ। मधेस पहिलो खेलमा सगरमाथा स्म्यासर्ससंग ३–१ तथा काठमाडौँ रेड्ससंग ३–२ ले पछि परेको थियो।
अपराजित दुई टोली कर्णाली शिवराज र सगरमाथा स्म्यासर्सबीचको खलेलमा कर्णाली ३–२ ले विजयी भयो। लगातार तेस्रो खेलमा जित हात पार्ने क्रममा कर्णालीले २५–१६, २३–२५, २५–२३, १९–२५ र १५–९ को प्रदर्शन ग¥यो। कर्णालीका मार्की खेलाडी पहल गहतराज ‘म्यान अफ द म्याच’ चुनिए।
यो खेल अघिसम्म सगरमाथा पनि अपराजित थियो। दुवै टोलीले समान ३–३ खेल खेलेका छन्।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन्। सहभागी टिमले पहिले सिङ्गल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्। लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ। शीर्ष दुई र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।
नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ।
फाइनल भदौ २७ गते हुनेछ।