काठमाडौं- अस्ट्रेलियामा सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्तालाई आफ्ना सामग्री छनोट गर्ने एल्गोरिदम बन्द गर्ने विकल्प दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
अस्ट्रेलियन सरकारले यसै साता सार्वजनिक गर्न लागेको डिजिटल दायित्वसम्बन्धी कानुनको मस्यौदामा यस्तो व्यवस्था समेटिने भएको अस्ट्रेलियाको एबीसी न्यूजले उल्लेख गरेको छ।
प्रस्तावित कानुनअनुसार सामाजिक सञ्जाल कम्पनीहरूले आफ्ना मञ्चमा रहेका जोखिम पहिचान गरी हानिकारक सामग्री फैलिन नदिन आवश्यक कदम चाल्नुपर्ने र कानुन उल्लङ्घन गरेमा कम्पनीहरूलाई १० करोड अमेरिकी डलरभन्दा बढी जरिवाना हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
एल्गोरिदमका विषयमा प्रयोगकर्तालाई समय समयमा सूचना देखाउँदै एल्गोरिदमबाट छनोट भएका सामग्री हेर्ने वा आफूले पछ्याएका व्यक्तिका सामग्री मात्र हेर्ने विकल्प दिइनेछ। प्रयोगकर्ताले आफूलाई उपयुक्त विकल्प रोज्न सक्नेछन्।
सामाजिक सञ्जालका एल्गोरिदमले प्रयोगकर्ताको रुचि, प्रयोगको बानी, उमेर तथा स्थानलगायतका विवरणका आधारमा सामग्री प्राथमिकतामा राख्ने गर्छन्। यस्ता प्रणालीले उत्तेजक सामग्रीलाई बढी फैलाउने, समान विचारको घेरालाई बलियो बनाउने र बालबालिकामा नकारात्मक असर पार्ने गरेको भन्दै आलोचना हुँदै आएको छ।
प्रस्तावित कानुनमा वयस्कका लागि समेत गैरकानुनी अश्लील सामग्रीलगायत अवैध सामग्री उपलब्ध हुन नदिने व्यवस्था गरिनेछ। १८ वर्षमुनिका बालबालिकाका लागि शरीरसम्बन्धी धारणा र दुर्व्यवहारलगायत मानसिक तथा सामाजिक असर पार्ने थप सामग्रीलाई जोखिमपूर्ण क्षेत्रका रूपमा पहिचान गरिनेछ।
अनलाइन सुरक्षासम्बन्धी सरकारी निकाय र दर्ता भएका स्वतन्त्र अनुसन्धानकर्तालाई सामाजिक सञ्जालको निगरानी गर्न विशेष अधिकार दिने प्रस्तावसमेत गरिएको छ। उनीहरूले बालबालिका बनेर सामाजिक सञ्जालमा देखाइने सामग्रीको निगरानी गर्न सक्नेछन्।
यस विषयमा संसद्मा भने दलहरूको धारणा फरक–फरक देखिएको छ। विपक्षी दलका केही नेताले बालबालिकामा सामाजिक सञ्जालका एल्गोरिदमले मनोवैज्ञानिक असर पार्ने बताएका छन् भने केहीले एल्गोरिदम बन्द गर्ने व्यवस्था अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।