काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ। भेटवार्तामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल भएको थियो।
मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा द्रुत उद्धार टोली तथा कोरियाली विपद् राहत टोली पठाउनुका साथै मानवीय सहायता र राहत सामग्री उपलब्ध गराएकोमा दक्षिण कोरिया सरकारप्रति आभार व्यक्त गरेका थिए। उनले विपद्पछि दिगो र जोखिमप्रतिरोधी पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै आगामी पुनर्निर्माणमा समेत कोरियाको निरन्तर सहयोगको अपेक्षा गरेका थिए।
दक्षिण कोरियाका विदेशमन्त्री ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न आफ्नो सरकार इच्छुक रहेको बताएका थिए। जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको क्षतिप्रति विश्व समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका विषयमा नेपाल र दक्षिण कोरियाले अन्तर्राष्ट्रिय मञ्चमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने बताएका थिए।
भेटवार्तामा दुवै मन्त्रीले आपसी विश्वास, मित्रता र सहकार्यका आधारमा नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता दोहोर्याएका थिए।