आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • खाडीमा फेरी चर्कियो तनाव, अमेरिकी आक्रमणमा इरानका तीन तेल ट्यांकर ध्वस्त

खाडीमा फेरी चर्कियो तनाव, अमेरिकी आक्रमणमा इरानका तीन तेल ट्यांकर ध्वस्त

 |  आइतबार, भदौ २१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०८३

काठमाडौं- संयुक्त राज्य अमेरिकाले इरानका तीनवटा तेल ट्यांकरमा सैन्य आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले शनिबार गरिएको आक्रमणमा एम-टी काइलो गल्फ अफ ओमानमा डुबेको भिडियो सार्वजनिक गर्दै इरानलाई अमेरिकी नौसैनिक जहाजमाथि आक्रमण गरे थप कडा आर्थिक मूल्य चुकाउनुपर्ने चेतावनी दिएको हो।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) ले गस्तीमा रहेका अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि जवाफी कारबाही गरिएको थियो। अमेरिकी विमानवाहक युद्धपोत र निर्देशित क्षेप्यास्त्र बोकेको विध्वंसक जहाजले ती आक्रमण छल्न सफल भएको र कुनै पनि अमेरिकी सैनिक घाइते नभएको दाबी गरिएको छ।

अमेरिकी सेनाले एम-टी डाउनी लाई खार्ग टापुनजिक, एम-टी स्टार्क–१ लाई जास्कनजिक स्थायी रूपमा निष्क्रिय बनाइएको तथा एम-टी काइलो गल्फ अफ ओमानमा डुबाइएको जनाएको छ। आक्रमणअघि चालक दललाई जहाज छाड्न निर्देशन दिइएको सेन्ट्रल कमाण्डले उल्लेख गरेको छ।

अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानले अमेरिकी नौसेनालाई निशाना बनाए त्यसका तेल ट्यांकरहरू नष्ट गरिने चेतावनी दिएका छन्। ‘यदि इरानले अमेरिकी जहाजमाथि गोली चलायो भने हामी उसका तेल ट्यांकरहरू डुबाइदिन्छौं। त्यसो हुन नदिन उनीहरूले अमेरिकी नौसेनामाथि आक्रमण नगरे पुग्छ,’ उनले एक्समा लेखेका छन्।

सेन्ट्रल कमाण्डका कमाण्डर ब्राड कुपरले ती तीन ट्यांकर आइआरजीसी र त्यससँग आबद्ध क्षेत्रीय समूहहरूलाई आर्थिक स्रोत उपलब्ध गराउने बहु–अर्ब डलरको ‘छायाँ सञ्जाल’ को हिस्सा रहेको दाबी गरे।

यता इरानको विदेश मन्त्रालयले अमेरिकी आक्रमणको कडा निन्दा गर्दै यसलाई संयुक्त राष्ट्रसंघको बडापत्रको धारा २(४) को उल्लंघन, युद्ध अपराध तथा अन्तर्राष्ट्रिय शान्ति, समुद्री व्यापार र सुरक्षामाथिको खतरा भएको जनाएको छ।

मन्त्रालयले यसलाई इरानविरुद्ध जारी अमेरिकी सैन्य आक्रामकता, नौसैनिक नाकाबन्दी र आर्थिक युद्धको निरन्तरता भएको आरोप पनि लगाएको छ। अमेरिका र इरानबीचको यो घटनाले खाडी क्षेत्रमा सैन्य तनाव थप चर्किने संकेत देखिएको छ।    -एएनआई

प्रकाशित: Sep 06, 2026| 10:31 आइतबार, भदौ २१, २०८३
प्रतिक्रिया दिनुहोस्