काठमाडौं। अमेरिकाले शनिबार खार्ग टापुनजिकै इरानी तेल बोकेको ट्यांकरलाई लक्षित गरी चार वटा मिसाइल प्रहार गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन्। आक्रमणपछि ठूलो विस्फोटको आवाज सुनिएको बताइएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको भूमिगत आणविक केन्द्र ‘पिकैक्स माउन्टेन’मा गतिविधि देखिए तत्काल ठूलो आक्रमण गर्न सकिने चेतावनी दिएका छन्। उनले इरानविरुद्धको अमेरिकी सैन्य अभियानको मुख्य उद्देश्य इरानलाई आणविक हतियार बनाउनबाट रोक्नु रहेको बताएका छन्।
खार्ग टापु होर्मुज जलडमरूमध्य नजिकै रहेको र त्यहाँबाट इरानको ठूलो हिस्सा तेल निर्यात हुने भएकाले यस क्षेत्रमा बढ्दो तनावले विश्व बजारमा तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढेको छ। होर्मुज जलडमरूमध्यबाट विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने गरेको छ।
इरानले भने अमेरिकी आक्रमणको कडा विरोध गर्दै आफ्नो सार्वभौमिकता उल्लङ्घन गरेको आरोप लगाएको छ। इरानले अमेरिकी सैन्य संरचनालाई लक्षित गरी जवाफी कारबाही गरेको जनाएको छ। अमेरिकाले भने आफ्ना आक्रमण नागरिकलाई लक्षित नगरेको दाबी गरेको छ।