काठमाडौं- नेपाल भलिबल लिग (एनभीएल) मा कर्णाली शिवराज र सगरमाथा स्मासर्सले विजयी शुरुवात गरेका छन्। शुक्रबारदेखि शुरु भएको एनभीएलमा कर्णाली र सगरमाथाले विजयी शुरुवात गरेका हुन्।
खेलको दोस्रो खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई ३–१ को सेटमा पराजित गरेको थियो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा कर्णालीले पहिलो सेट २५–२२ ले जितेको थियो भने दोस्रो सेट अन्नपूर्णले २५–१९ ले आफ्नो पक्षमा पारेको थियो। त्यसपछि कर्णालीले तेस्रो सेट २६–२४ र चौथो सेट २५–२२ ले जित्दै खेल आफ्नो पक्षमा पारेको थियो।
यसअघि भएको पहिलो खेलमा सगरमाथा स्मासर्सले मधेश वारियर्समाथि ३–१ को जित निकालेको थियो। सगरमाथाले पहिलो र दोस्रो सेट समान २५–२१ ले जितेको थियो। तेस्रो सेट मधेशले २५–२३ ले जिते पनि चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै सगरमाथाले खेल जितेको थियो।
लिगअन्तर्गत त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज पनि दुई खेल हुनेछन्। पहिलो खेलमा काठमाडौँ रेड्स र मधेश वारियर्सबीच अपराहन्न ४ बजेदेखि शुरु हुने छ भने दोस्रो खेलमा सगरमाथा स्मासर्स र खप्तड फाल्कन्सबीच साँझ ७ बजेदेखि हुनेछ।
केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको छ। नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो।
भदौ २७ गतेसम्म सञ्चालन हुने लिगमा ६ टोलीले एकअर्काविरुद्ध एकपटक खेल्नेछन्। लिग चरणको अन्त्यमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि निर्णायक खेल खेल्नेछन्।