बुधबार, भदौ १७, २०८३

अमेरिका-इरान तनाव बढेपछि कच्चा तेलको मूल्य फेरी बढ्यो

 |  बुधबार, भदौ १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०८३

काठमाडौं- अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढेपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। पछिल्लो अपडेट अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल ४ डलरभन्दा बढीले बढेर पाँच साताकै उच्च विन्दुमा पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ४.६ प्रतिशतले बढेर प्रतिब्यारेल ९४ डलर ६५ सेन्ट पुगेको छ। अमेरिकी पश्चिम टेक्सास इन्टरमिडियट कच्चा तेलको मूल्य ५.२ प्रतिशतले बढेर ९० डलर २२ सेन्ट पुगेको छ।

अमेरिकाले इरानका इस्लामिक रिभोलुसनरी गार्ड्सका विभिन्न लक्ष्यमा नयाँ हवाई आक्रमण गरेपछि मध्यपूर्वबाट तेल आपूर्तिमा थप अवरोध आउन सक्ने आशंकाले मूल्य बढेको हो। इरानले पनि खाडी क्षेत्रबाट हुने तेल निर्यात रोक्ने चेतावनी दिएको छ।

विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्ग होर्मुज जलडमरुमा पछिल्लो समय दुईवटा तेल बोकेका पानीजहाजमा आक्रमण भएको खबरपछि पनि बजारमा चिन्ता बढेको थियो। उक्त जलमार्गबाट हुने तेल आपूर्ति लामो समयसम्म प्रभावित हुन सक्ने आशंका गरिएको छ।

यसैबीच विश्वका विभिन्न क्षेत्रमा प्रशोधन केन्द्रमा देखिएको अवरोधका कारण डिजेलको मूल्य पनि उल्लेख्य बढेको छ। अमेरिकामा डिजेलको मूल्य ५२ महिनायताकै उच्च पुगेको जनाइएको छ।

बजारमा अमेरिकी तेल भण्डारणको तथ्यांकलाई समेत चासोका साथ हेरिएको छ। विश्लेषकहरूले अगस्ट २८ मा सकिएको सातामा अमेरिकी भण्डारणबाट करिब ८ लाख ब्यारेल कच्चा तेल बाहिरिएको अनुमान गरेका छन्। यस्तो भए पाँच सातापछि पहिलोपटक अमेरिकी तेल भण्डारण घटेको हुनेछ।

प्रकाशित: Sep 02, 2026| 14:13 बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्