बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इमरान खानलाई अदालतको राहत, जेलमै रहेकी पत्नीसँग भेटको व्यवस्था मिलाउन आदेश

इमरान खानलाई अदालतको राहत, जेलमै रहेकी पत्नीसँग भेटको व्यवस्था मिलाउन आदेश

 |  मंगलबार, भदौ १६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०८३

काठमाडौं। पाकिस्तानको अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई थप एकान्त कारावासमा नराख्न आदेश दिएको छ।

इस्लामाबाद उच्च अदालतले रावलपिन्डीस्थित अडियाला कारागार प्रशासनलाई कारागार नियमअनुसार इमरान खान र बुशरा बीबीबीच भेटको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

अदालतले खानका परिवारका सदस्यलाई कारागार नियमअनुसार भेट्न दिन तथा उनका छोराहरूसँग टेलिफोनमार्फत कुराकानीको व्यवस्था गर्नसमेत आदेश दिएको छ। साथै, उनलाई दैनिक पत्रपत्रिका र पुस्तक उपलब्ध गराउन तथा कारागार नियमअनुसार आवश्यक स्वास्थ्य उपचार सुनिश्चित गर्न निर्देशन दिइएको छ।

७३ वर्षीय इमरान खान सन् २०२३ को अगस्टदेखि जेलमा छन्। भ्रष्टाचारलगायत मुद्दामा उनी लामो कारावास सजाय भोगिरहेका छन्। उनकी पत्नी बुशरा बीबी पनि भ्रष्टाचारसम्बन्धी मुद्दामा सजाय पाएपछि अडियाला कारागारमा रहेकी छन्।

इमरान खानकी बहिनी अलीमा खानले उनलाई एकान्त कारावासमा राखिएको भन्दै अदालतमा निवेदन दिएकी थिइन्। बुशरा बीबीकी छोरी मुबाशेरा खावर मानेकाले पनि आमाको अवस्थाबारे छुट्टै निवेदन दिएकी थिइन्।

अदालतले अडियाला कारागारका प्रमुखलाई आदेश कार्यान्वयन गरी १५ दिनभित्र प्रगति विवरण बुझाउन निर्देशन दिएको छ।

यसैबीच, इमरान खानको स्वास्थ्यलाई लिएर विवादसमेत जारी छ। सर्वोच्च अदालतले उनलाई उपचारका लागि निजी अस्पतालमा भर्ना गर्न आदेश दिएको भए पनि सुरक्षा कारण देखाउँदै उनलाई सरकारी अस्पताल लगिएको र पछि पुनः अडियाला कारागार फर्काइएको थियो।

यस विषयमा खानको परिवारले अदालतमा अवहेलना निवेदन दिएको छ। उक्त निवेदनमा सेप्टेम्बर १६ मा सुनुवाइ हुने तय भएको छ।

प्रकाशित: Sep 01, 2026| 19:52 मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्