मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति 

रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति 

 |  मंगलबार, भदौ १६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०८३

काठमाडौं। भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण क्षतिग्रस्त सडक तथा पुलहरूको तत्काल पुनःस्थापनाका लागि सडक विभागले काम तीव्र बनाएको छ।

बाढीबाट रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको विभागले जनाएको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार बाढीबाट विभागअन्तर्गतका ३१ वटा पुल बगेका वा क्षतिग्रस्त भएका छन्। केही पुल पूर्णरूपमा बगेका छन् भने केही पुलका स्पानमा क्षति पुगेको छ।

विभागले तत्कालका लागि देवीघाट, त्रिशूली बजार र बेत्रावतीमा गरी तीन स्थानमा बेलीब्रिज निर्माणको काम अघि बढाएको छ। देवीघाटस्थित तादी खोला पुलमा ५० मिटर लामो बेलीब्रिज राख्ने तयारी गरिएको छ। यसका लागि आवश्यक डिजाइन सम्पन्न भइसकेको विभागले जनाएको छ।

बाँकी करिब २० वटा क्षतिग्रस्त पुलमा बेलीब्रिज राख्नका लागि स्थलगत सर्वेक्षण भइरहेको छ। बेलीब्रिज राख्नुअघि फाउन्डेसनको अवस्था अध्ययन गर्नुपर्ने भएकाले केही स्थानमा सर्वेक्षण र डिजाइनको काम भइरहेको महानिर्देशक जैसीले बताए।

बाढीले पृथ्वी राजमार्गअन्तर्गत गल्छी, बैरेनी, जरीखेत, पोखरे, बाङ्गे र गलौंदी क्षेत्रमा ठूलो मात्रामा लेदो थुपार्दा सडक सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको थियो।

जैसीका अनुसार कतिपय स्थानमा दुईदेखि तीन मिटरसम्म लेदो थुप्रिएको थियो। अत्यधिक बाक्लो लेदो सामान्य उपकरणबाट हटाउनसमेत कठिन भएको उनले बताए।

बाढीपछिको सडक पुनःस्थापनाका लागि सडक विभागले फिल्डमा करिब ५० जना प्राविधिक परिचालन गरेको छ।

फिल्डमा प्रथम श्रेणीका दुईतीन जना अधिकारी, सिनियर डिभिजनल इन्जिनियर (सीडीई) पाँच ६ जना तथा इन्जिनियर, सब–इन्जिनियर, अपरेटर र मेकानिक्सलगायत प्राविधिक जनशक्ति खटिएका छन्।

विभागका अनुसार प्रभावित सबै क्षेत्रमा स्थलगत रूपमा पुग्न सम्भव नभएकाले कतिपय स्थानमा हेलिकप्टरमार्फत सर्वेक्षण गरिएको छ।

बाढीबाट क्षतिग्रस्त सडक तथा यातायात सेवा तत्काल पुनःस्थापना गर्न सडक बोर्डले तीन करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ।

बाढीपछि बसेको सडक बोर्डको आकस्मिक बैठकले प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने इन्धन, ग्राभेल तथा अन्य आकस्मिक कामका लागि उक्त रकम विनियोजन गरेको महानिर्देशक जैसीले बताए। थप आवश्यक रकम सम्बन्धित योजनामा विनियोजित बजेटबाट खर्च गर्ने सहमति भएको विभागले जनाएको छ।

सडक विभागले विभिन्न स्थानमा १५ भन्दा बढी निर्माण उपकरण परिचालन गरेको छ। बेत्रावती क्षेत्रमा सडक साँघुरो भएकाले हाल १४ वटा उपकरण सञ्चालनमा रहेको र अन्य उपकरणलाई जगेडामा राखिएको छ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर र परेवाडाँडामा सडक क्षतिग्रस्त हुनुका साथै धादिङबेँसीतर्फको फुर्केखोला पुल भत्किएपछि धादिङबेँसीसँगको सडक सम्पर्क अवरुद्ध भएको थियो।

विभागले पृथ्वी राजमार्गको मासटारबाट नेपालटार, गजुरीटार, पिपलटार, आदमटार हुँदै बेनीघाटबाट धादिङबेँसी पुग्ने वैकल्पिक सडक सञ्चालनमा ल्याएको छ। उक्त सडकबाट धादिङबेँसीसँग सम्पर्क स्थापित भइसकेको विभागले जनाएको छ।

त्यसैगरी गल्छी, कल्लेरीटार, कौसीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्म पुग्ने वैकल्पिक सडकसमेत सञ्चालनमा ल्याइएको छ।

नुवाकोटको विदुरदेखि बेत्रावती हुँदै धुन्चेसम्मको सडक सञ्चालनमा ल्याउन विभागले प्राथमिकताका साथ काम गरिरहेको छ।

विदुर–बेत्रावती करिब १० किलोमिटर सडकखण्डमध्ये ६ किलोमिटरभन्दा बढी सडक बाढीले पूर्णरूपमा बगाएको थियो। विभागले अहिले सडक खन्दै बेत्रावतीतर्फ करिब सात किलोमिटरसम्म पहुँच पु¥याएको जनाएको छ।

बेत्रावती क्षेत्रमा त्रिशूली नदी किनारबाट सडक निकाल्नुपर्ने भएकाले भर्टिकल कटिङ गर्नुपर्ने अवस्था छ। उक्त कटिङ पूरा भएपछि बेत्रावतीमा बेलीब्रिज राखेर धुन्चेतर्फ यातायात सञ्चालन गर्ने तयारी छ।

हाल काठमाडौंको टोखाबाट छहरे, चौघडा पुल, आप्र पुल, समरथली र बोगटीटार हुँदै धुन्चेसम्म पुग्ने करिब ११० किलोमिटर लामो वैकल्पिक सडक प्रयोग भइरहेको छ।

कृष्णभीरमा बाढीका कारण दुई स्थानमा सडक कटान भएपछि यातायात सञ्चालनमा समस्या भएको छ। उक्त क्षेत्रमा सडकलाई भित्तातर्फ काटेर खोल्ने कि वैकल्पिक बाटो निर्माण गर्ने भन्ने विषयमा प्राविधिक अध्ययन भइरहेको छ।

५३ झोलुङ्गे पुलमा क्षति

पूर्वाधार विकास विभागका अनुसार बाढीबाट ५३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। तीमध्ये करिब २० वटा पुल मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन् भने ३३ वटा पुल पूर्ण रूपमा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन्।

झोलुङ्गे पुलको तत्काल मर्मतका लागि १५ करोड रुपैयाँ, पुनर्निर्माणका लागि ६० करोड रुपैयाँ र ग्रामीण सडकका लागि ४० करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

मर्मत गर्न सकिने झोलुङ्गे पुलको काम २०–२५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको विभागले जनाएको छ।

तीन जिल्लामा करिब ६ हजार घर प्रभावित

भदौ १० गतेको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ।

प्रारम्भिक विवरणअनुसार तीन जिल्लामा करिब ६ हजार निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। विद्यालयलगायत ४५ वटा सरकारी संरचनामा पनि पूर्ण तथा आंशिक क्षति पुगेको छ। 

प्रकाशित: Sep 01, 2026| 17:41 मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्