मंगलबार, भदौ १६, २०८३

राओ भालेकानोमाथि बार्सिलोनाको शानदार जित

 |  मंगलबार, भदौ १६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०८३

काठमाडौं- स्पेनिस ला लिगाअन्तर्गत तेस्रो चरणको खेलमा बार्सिलोनाले राओ भालेकानोमाथि ५-२ गोलको शानदार जित निकाल्दै सिजनको लगातार तेस्रो जित दर्ता गरेको छ।

गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सुरुवातमै अप्रत्याशित झट्का बेहोरेको थियो। १२औँ मिनेटमा सर्जियो कामेलोले गोल गर्दै राओलाई अग्रता दिलाएका थिए।

तर बार्सिलोनाले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल उल्टाएको थियो। खेलको १९औँ मिनेटमा राफिन्हाले बराबरी गोल गरे भने २१औँ मिनेटमा लामिन यामालले उत्कृष्ट प्रहारमार्फत बार्सिलोनालाई २-१ को अग्रता दिलाएका थिए। यामालको यो गोल बार्सिलोनाका लागि ५०औँ गोलसमेत बनेको थियो।

दोस्रो हाफमा बार्सिलोनाले अग्रता थप फराकिलो बनायो। खेलको ५१औँ मिनेटमा राओका फ्लोरियन लेज्युनले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोना ३-१ गोलले अघि बढेको थियो। खेलको ५९औँ मिनेटमा कामेलोले व्यक्तिगत दोस्रो गोल गर्दै राओलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर खेलको ७१औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता ४-२ बनाएका थिए।

खेलको ९०औँ मिनेटमा यामालले पनि व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ५–२ को जित सुनिश्चित गरेको थियो।

यस जितसँगै बार्सिलोनाले तीन खेलबाट नौ अंक जोडेको छ। समान नौ अंक रहेको रियाल म्याड्रिडलाई गोल अन्तरमा पछि पार्दै बार्सिलोना तालिकाको शीर्ष स्थानमा पुगेको छ। राओ भालेकानो भने तीन खेलबाट एक अंकसहित १८औँ स्थानमा छ।

प्रकाशित: Sep 01, 2026| 06:22 मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्