सोमबार, भदौ १५, २०८३

मालागामाथि रियल म्याड्रिडको फराकिलो विजय

 |  सोमबार, भदौ १५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०८३

काठमाडौं- स्पेनिस ला लिगामा रियल म्याड्रिडले मालागामाथि ४-० गोलको शानदार जित हात पारेको छ। 

गएराती सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले पहिलो हाफमै तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। रियल मड्रिडका लागि जुड बेलिङ्घमले १९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको २६औँ मिनेटमा रियलले मालागाका अल्फोन्सो हेरेरोको आत्मघाती गोलमा अग्रता दोब्बर बनाएको थियो।

किलियन एमबाप्पेको प्रहार गोलरक्षक हेरेरोले रोके पनि रिबाउन्डमा बेलिङ्घमले हेडमार्फत बल गोलतर्फ पठाएका थिए। मालागाका खेलाडीले क्लियर गर्ने प्रयास गरे पनि बल हेरेरोमा लाग्दै आफ्नै पोस्टमा छिरेपछि उक्त गोल आत्मघातीका रूपमा दर्ज भएको थियो। त्यसको चार मिनेटपछि, अर्थात् ३०औँ मिनेटमा किलियन एमबाप्पेले रियलको अग्रता ३-० बनाएका थिए। एडवार्डो कामाभिङ्गाको पासपछि ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले दिएको उत्कृष्ट क्रसमा एमबाप्पेले हावामा प्रहार गर्दै बललाई जाली चुमाएका थिए।

दोस्रो हाफमा रियलले आक्रमणको गति केही घटाएको थियो। ५५औँ मिनेटमा बेलिङ्घमले गोल गर्ने अर्को राम्रो अवसर पाए पनि उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो। खेलको निर्धारित समय सकिएपछि थपिएको पहिलो मिनेटमा रियलले चौथो गोल गरेको थियो। भिनिसियस जुनियरले दिएको पासलाई आर्डा गुलरले गोलमा परिणत गर्दै रियलको ४-० को जित सुनिश्चित गरेका थिए।

यस जितसँगै रियल मड्रिडले ला लिगाको नयाँ सिजनमा लगातार तेस्रो जित दर्ता गर्दै ९ अंक जोडेको छ। टोली अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ भने नवप्रवेशी मालागा तीन खेलबाट एक अंकसहित १८औँ स्थानमा रहेको छ।

प्रकाशित: Aug 31, 2026| 07:21 सोमबार, भदौ १५, २०८३
प्रतिक्रिया दिनुहोस्