आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • श्रीलङ्काबाट महिला च्याम्पियन्स ट्रफीको आयोजना अधिकार खोसियो

श्रीलङ्काबाट महिला च्याम्पियन्स ट्रफीको आयोजना अधिकार खोसियो

 |  आइतबार, भदौ १४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०८३

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सन् २०२७ मा हुने पहिलो महिला च्याम्पियन्स ट्रफीको आयोजना अधिकार श्रीलङ्काबाट खोसेको जनाइएको छ।

श्रीलङ्का क्रिकेटको सञ्चालनमा सरकारले नियुक्त गरेको अन्तरिम प्रशासन रहेका कारण प्रतियोगिता आयोजना गर्न आईसीसीले असहमति जनाएको बताइएको छ।

पहिलो महिला च्याम्पियन्स ट्रफी सन् २०२७ फेब्रुअरी १४ देखि २८ गतेसम्म हुने तय भएको छ। प्रतियोगितामा ६ टोली सहभागी हुनेछन्। श्रीलङ्कालाई यस ऐतिहासिक प्रतियोगिताको आयोजक तोकिएको भए पनि क्रिकेट बोर्डमा सरकारी हस्तक्षेपसम्बन्धी आईसीसीको नीतिका कारण आयोजना अधिकार हटाइएको बताइएको छ।

श्रीलङ्का क्रिकेटको अन्तरिम प्रशासनका सचिव प्रकाश शैफ्टरले पनि प्रतियोगिता श्रीलङ्काबाट अन्यत्र सारिएको पुष्टि गरेका छन्। नयाँ आयोजकको टुङ्गो भने लागिनसकेको उनले बताएका छन्।

आईसीसीले यसअघि श्रीलङ्का क्रिकेटमा चाँडो निर्वाचन गर्न आग्रह गरेको थियो। आईसीसी बोर्ड बैठकमा श्रीलङ्का क्रिकेटको अवस्थाबारे छलफल गर्दै क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप नहुने सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो।

आयोजना अधिकार गुमाएपछि श्रीलङ्काको महिला टोलीको प्रतियोगितामा सहभागितासमेत अन्योलमा परेको छ। प्रतियोगितामा आईसीसी वरियताका शीर्ष पाँच टोली छनोट हुने र आयोजक राष्ट्रले छैटौँ टोलीका रूपमा स्थान पाउने व्यवस्था छ। हाल श्रीलङ्काको महिला टोली वरियतामा छैटौँ स्थानमा रहेकाले आयोजना अधिकार गुमाएमा उसको सहभागिताको बाटो कठिन बन्न सक्छ।

नयाँ आयोजकबारे निर्णय आगामी आईसीसी बोर्ड बैठकबाट हुने बताइएको छ। पहिलो महिला च्याम्पियन्स ट्रफी महिला क्रिकेटको विश्वव्यापी विकासका दृष्टिले महत्वपूर्ण प्रतियोगिता मानिएको छ।

प्रकाशित: Aug 30, 2026| 19:21 आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्