आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भोटेकोशी बाढीपछि बेपत्ता कर्मचारी, मजदुर र सर्वसाधारणको खोजीमा सम्पूर्ण शक्ति परिचालन 

भोटेकोशी बाढीपछि बेपत्ता कर्मचारी, मजदुर र सर्वसाधारणको खोजीमा सम्पूर्ण शक्ति परिचालन 

 |  आइतबार, भदौ १४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०८३

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी, मजदुर तथा सर्वसाधारणको खोजी तथा उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखेर उपलब्ध सम्पूर्ण शक्ति परिचालन गरिरहेको बताएका छन्। प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण अपेक्षित सफलता हासिल गर्न कठिन भइरहेको उनले बताए। 

सम्पर्कविहीन कर्मचारीका परिवारजनसँग मन्त्रालयमै भेट गर्दै मन्त्री श्रेष्ठले उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताए। उनले संकटको समयमा पीडित परिवारलाई उद्धारको अवस्थाबारे नियमित, यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउनु राज्यको महत्त्वपूर्ण दायित्व भएको बताए। 

उनले भने, ‘परिवारजनसँग सम्पर्क नहुँदाको पीडा मैले महसुस गरिरहेको छु। हामीलाई प्रत्येक सेकेन्ड महत्त्वपूर्ण छ। नागरिक तथा कर्मचारीको जीवन रक्षाका लागि सरकारले कुनै कसर बाँकी राखेको छैन। तर, काबुबाहिरको परिस्थितिमा सरकारले चाहेर पनि धेरै कुरा गर्न कठिन भइरहेको छ।’

बाढीपछि मन्त्रालयले उद्धार, समन्वय तथा पुनः स्थापनाका लागि उपलब्ध स्रोतसाधन परिचालन गर्दै विभिन्न कमाण्ड तथा कार्य संयन्त्रमार्फत काम गरिरहेको जनाएको छ। सुरक्षा निकायसँगको समन्वयमा उद्धार कार्यलाई तीव्रता दिइए पनि कठिन भौगोलिक अवस्था र जोखिमका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको मन्त्री श्रेष्ठले बताए।

केन्द्रीय तहमा मन्त्रीले अन्तरमन्त्रालय समन्वय, सहजीकरण तथा आवश्यक स्रोत व्यवस्थापनको नेतृत्व गरिरहेका छन्। मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा अन्य उच्च अधिकारीहरू फिल्डमै पुगेर उद्धार, पुनः स्थापना, समन्वय तथा स्रोत परिचालनको काममा खटिएका छन्।

प्रकाशित: Aug 30, 2026| 09:06 आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्