शनिबार, भदौ १३, २०८३

क्रिस्टल प्यालेसमाथि म्यानचेस्टर सिटीको शानदार जित

 |  शनिबार, भदौ १३, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०८३

काठमाडौं- इङ्लिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४-१ गोल अन्तरले पराजित गरेको छ। सेलहर्स्ट पार्कमा भएको खेलमा सिटीका लागि एर्लिङ हालान्ड र रियान चेर्कीले समान दुई-दुई गोल गरेका थिए।

सिटीले खेलको १७औँ मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो। एन्टोइन सेमेन्होको क्रसमा हालान्डले हेडमार्फत गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए। पहिलो हाफमा सिटीले अग्रता कायम राखेको थियो।

दोस्रो हाफमा सिटीले आफ्नो अग्रता थप बलियो बनायो। ५४औँ मिनेटमा चेर्कीले क्रिस्टल प्यालेसका रक्षकलाई छलाउँदै उत्कृष्ट गोल गर्दै सिटीको अग्रता २-० मा पुर्‍याएका थिए। तर त्यसको दुई मिनेटपछि क्रिस्टल प्यालेस खेलमा फर्किएको थियो। येरेमी पिनोको फ्रिकिक गोलरक्षक जियानलुइजी डोनारुम्मालाई लाग्दै गोलमा परिणत भएपछि प्यालेसले अन्तर २-१ मा झारेको थियो।

तर सिटीले त्यसपछि लगातार दबाब बढायो। ५९औँ मिनेटमा चेर्कीले नै अर्को गोल गर्दै टोलीलाई ३-१ को अवस्थामा पुर्‍याएका थिए। खेल सकिन पाँच मिनेट बाँकी रहँदा हालान्डले फिल फोडेनको सहयोगमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको ४-१ को जित सुनिश्चित गरेका थिए।

यस जितसँगै म्यानचेस्टर सिटीले नयाँ सिजनमा लगातार दोस्रो जित दर्ता गरेको छ। टोलीले पहिलो खेलमा बर्नमाउथलाई २-१ ले पराजित गरेको थियो। क्रिस्टल प्यालेस भने लगातार दोस्रो खेलमा पराजित भएको छ। नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा सिटीले सुरुआती दुई खेलबाट शतप्रतिशत नतिजा निकाल्दै सिजनको राम्रो सुरुआत गरेको छ।

प्रकाशित: Aug 29, 2026| 09:01 शनिबार, भदौ १३, २०८३
प्रतिक्रिया दिनुहोस्