काठमाडौं। जापानमा आयोजना हुने एसियाली खेलकुदमा भारतले क्रिकेटको मुख्य टोलीको सट्टा दोस्रो टोली पठाउने तयारी गरेको बताइएको छ।
भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई उदृत गर्दै जापानमा खेलाडीका लागि उपलब्ध आवास तथा खेल पूर्वाधारप्रति बोर्ड सन्तुष्ट नभएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
एसियाली खेलकुदमा क्रिकेटका खेल सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म सञ्चालन हुनेछन्। भारतले यसअघि पुरुष र महिला दुवै टोली घोषणा गरिसकेको भए पनि अहिले टोलीमा परिवर्तन गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ।
खेलाडी बस्ने होटलका कोठा निकै साना रहेको र दुई खेलाडीले खेल सामग्रीको झोला खोलेपछि हिँडडुल गर्नसमेत कठिन हुने अवस्था रहेको बताइएको छ। त्यस्तै, खेलाडीका लागि छुट्टै खेलाडी भिलेज निर्माण नगरिएकाले मैदानबाट करिब २० किलोमिटर टाढा होटलको व्यवस्था गरिएको छ।
क्रिकेटका खेलका लागि छनोट गरिएको कोरोगी खेलकुद पार्क यसअघि बेसबल मैदानका रूपमा प्रयोग हुँदै आएको थियो। हालै मात्र क्रिकेट मैदानमा रूपान्तरण गरिएको उक्त मैदानको खेलपट्टी र मैदानको अवस्था अन्तर्राष्ट्रिय स्तरमा पर्याप्त परीक्षण नभएको बताइएको छ।
यसैगरी खेलाडीका लागि बनाइएको विश्रामस्थल स्थायी भवनमा नभई पालमा रहेको र शौचालय करिब पाँच सय मिटर टाढा रहेको जनाइएको छ। यी व्यवस्थाप्रति पाकिस्तान क्रिकेट बोर्डले समेत चिन्ता व्यक्त गरेको छ।
सुविधा र खेलपट्टीको अवस्थाबारे प्रश्न उठेपछि एसियाली क्रिकेट परिषद्ले प्राविधिक टोली जापान पठाउने निर्णय गरेको छ। टोलीले मैदान, अभ्यासस्थल तथा होटलको व्यवस्थाको निरीक्षण गर्नेछ।
एसियाली खेलकुदमा क्रिकेट चौथोपटक समावेश हुँदैछ। सन् २०१० मा चीनको क्वाङ्चौमा पहिलोपटक क्रिकेट समावेश गरिएको थियो। त्यसपछि सन् २०१४ को इन्चोन खेलकुदमा पनि क्रिकेट समावेश भयो। सन् २०१८ मा हटाइएको क्रिकेट सन् २०२२ को हाङ्चौ खेलकुदमा पुनः समावेश गरिएको थियो, जहाँ भारत विजेता बनेको थियो। आगामी जापान खेलकुदमा क्रिकेट चौथोपटक समावेश हुन लागेको हो।
एशियाली खेलकुदमा पुरुषतर्फ १० र महिलातर्फ ८ देशले भाग लिदैछन्। जसमा पुरुषतर्फ अफगानिस्तान, बंगलादेश, हङकङ, भारत, जापान, मलेसिया, नेपाल, ओमान, पाकिस्तान, श्रीलंका र थाइल्याण्ड रहेका छन्। त्यस्तै महिलातर्फ बंगलादेश, चीन, भारत, जापान, मलेसिया, पाकिस्तान, श्रीलंका र थाइल्याण्ड रहेका छन्।
