बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा जुट्न ओलीको आह्वान

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा जुट्न ओलीको आह्वान

 |  बुधबार, भदौ १०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०८३

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन्।

बुधबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय सचिवालयको आकस्मिक बैठकले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार र राहतमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न माग गरेको हो।

ओलीले हालसम्म क्षतिको पूर्ण विवरण प्राप्त नभए पनि ठूलो संख्यामा महिला, बालबालिका, विद्यार्थी, पर्यटक, सुरक्षाकर्मी तथा कर्मचारी सम्पर्कविहीन भएको र धेरै जना घाइते भएको बताएका छन्। उनका अनुसार रसुवाको टिमुरे बजारसहितका क्षेत्रमा सयौँ घर तथा पसल, पशुपन्छी, भन्सार कार्यालय, प्रहरी चौकी, दूरसञ्चार टावर, सडक, पुल, जलविद्युत् आयोजना, विद्युत्गृह तथा सबस्टेसन र कृषि क्षेत्रमा व्यापक क्षति पुगेको छ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा पूर्वी नवलपरासीका नदी तटीय क्षेत्र अझै उच्च जोखिममा रहेको ओलीले बताएका छन्। उनले नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन, जोखिमपूर्ण यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेका छन्।

‘विपतमा परेका नागरिकको जीवनरक्षा राज्यको पहिलो दायित्व हो,’ ओलीले भनेका छन्, ‘नागरिकको ज्यान बचाउन, बेपत्ता व्यक्तिको खोजी तथा उद्धार गर्न, जोखिममा परेकालाई स्थानान्तरण र पुनःस्थापना गर्न तथा घाइतेको तत्काल उपचारका लागि विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधनस्रोत र विकल्प अविलम्ब परिचालन गर्नुपर्छ।’

ओलीले तत्कालीन तथा दीर्घकालीन राहतको प्याकेज घोषणा गर्नसमेत सरकारसँग माग गरेका छन्। संघ, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था तथा आमनागरिकबीच एकीकृत सहयोग, समन्वय र सहकार्य आवश्यक रहेको उनले बताएका छन्।

बाढीमा फसेकाको तत्काल उद्धार, घाइतेको निःशुल्क तथा प्रभावकारी उपचार र प्रभावितलाई द्रुत रूपमा राहत सामग्री उपलब्ध गराउन सबै पक्ष एकजुट हुनुपर्ने ओलीको अपिल छ।

साथै, एमालेका सम्पूर्ण नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यमा सक्रिय रूपमा जुट्न ओलीले निर्देशन दिएका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गरी मानवीय सहायताका कार्यमा अग्रपंक्तिमा रहेर खटिन उनले आग्रह गरेका छन्।

‘सरकारले कुनै पनि बहानामा अलमल नगरी उद्धार कार्यमा तदारुकता देखाउन र विलम्ब नगरी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पु¥याउन पुनः जोडदार आह्वान गर्दछु,’ ओलीले भनेका छन्।

प्रकाशित: Aug 26, 2026| 17:07 बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्