बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पद्मा दलको झण्डा होइन, देशको झण्डा बोकेर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

पद्मा दलको झण्डा होइन, देशको झण्डा बोकेर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

 |  बुधबार, भदौ १०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०८३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए।

उनले बिहानदेखि प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित सरकारी निकायका अधिकारीसँग निरन्तर सम्पर्कमा रहेर उद्धार तथा राहतका योजनाबारे जानकारी लिइरहेको बताए। नागरिकको ज्यान बचाउनु अहिलेको सबैभन्दा महत्वपूर्ण प्राथमिकता भएकाले सरकारले आफ्नो सम्पूर्ण सामथ्र्य त्यसतर्फ केन्द्रित गर्नुपर्ने उनको भनाइ छ।

लामिछानेले बाढी प्रभावित रसुवा र धादिङका नदीतटीय क्षेत्रका बासिन्दालाई थप सतर्क रहन तथा सरकारी संयन्त्रको सम्पर्कमा रहन आग्रह गरे। चितवन, नवलपरासीलगायत नदीतटीय क्षेत्रमा पनि सावधानी अपनाउन उनले अपिल गरे।

उनले प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षा जनशक्ति तथा उपलब्ध सबै स्रोतसाधन परिचालन गर्न सरकारसँग आग्रह गरे। साथै राजनीतिक दलसँग रहेका तालिमप्राप्त तथा विपद् व्यवस्थापनमा अनुभवी जनशक्तिलाई सरकारी निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी उद्धार तथा राहतमा परिचालन गर्न सबै दललाई आह्वान गरे।

‘कुनै दलको झण्डा लिएर होइन, देशको झण्डा लिएर एकैपटक उद्धार र राहतमा उत्रिनुपर्छ,’ उनले भने।

लामिछानेले २०७२ सालको भूकम्पमा जस्तै अहिले पनि राजनीतिक दलहरूले राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताए। रास्वपा संसद्को सबैभन्दा ठूलो राजनीतिक दल भएकाले विपद्को समयमा थप जिम्मेवारीका साथ समन्वय र सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।

उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत राहत तथा उद्धारका लागि रकम परिचालन गरिरहेको छ। सरकारका विभिन्न मन्त्रालय र मन्त्रीहरू पनि प्रभावित क्षेत्रमा सक्रिय रहेको उनले बताए। 

लामिछानेले खोजी तथा उद्धारलाई पहिलो प्राथमिकता दिनुपर्ने र त्यसपछि राहत तथा पुनस्र्थापनाको काम अघि बढाउनुपर्नेमा जोड दिए। विगतका विपद्मा विदेशमा रहेका नेपालीले समेत सहयोग गर्दै आएको स्मरण गर्दै उनले यसपटक पनि देशबाहिर रहेका नेपालीबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

उनले विपद्पछि हुने पुनस्र्थापनाको काम चुनौतीपूर्ण भए पनि राज्यका सबै संयन्त्र परिचालन गरेर प्रभावित नागरिकलाई पुनस्र्थापित गर्न सकिने बताए।

लामिछानेले विपद्का बेला अपुष्ट समाचार तथा कृत्रिम बुद्धिमत्ता (एआई)बाट तयार गरिएका भ्रामक फोटो तथा भिडियो प्रसारण नगर्न आग्रह गरे। यस्ता सामग्रीले प्रभावित नागरिकमा थप त्रास सिर्जना गर्ने भन्दै उनले जिम्मेवार रूपमा सूचना प्रवाह गर्न सबैलाई आग्रह गरे।

स्वास्थ्य सेवातर्फ अस्पताल तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरसमेत स्ट्यान्डबाइमा रहेको जानकारी आफूले पाएको उनले बताए। 

उनले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि राजनीतिक दलका नेता तथा जनप्रतिनिधि अनावश्यक रूपमा भीडभाडसहित पुग्दा सुरक्षा निकायमाथि थप दबाब पर्न सक्ने बताए। आवश्यक अवस्थामा बाहेक आफू फिल्डमा नजाने र सरकारलाई प्रभावकारी रूपमा काम गर्न सहजीकरण गर्ने उनको भनाइ छ।

लामिछानेले राहत वितरणमा समेत स्थानीय प्रशासनसँग समन्वय गरी एकद्वार प्रणाली अपनाउनुपर्ने बताए। राहत पहुँच भएका स्थानमा मात्रै केन्द्रित नभई दुर्गम तथा राज्यको पहुँच कम भएका क्षेत्रका नागरिकसम्म पनि पुर्याउनुपर्नेमा उनले जोड दिए।

विपद्को समयमा महिला, गर्भवती, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायलाई उद्धार र राहतमा प्राथमिकता दिनुपर्ने उनले बताए।

उनले उद्धारमा खटिने राजनीतिक दल तथा संघसंस्थाका स्वयंसेवकले पर्याप्त तालिम र उपकरणबिना जोखिम नलिन आग्रह गरे। तालिमप्राप्त उद्धारकर्मीसँग समन्वय गरेर काम गर्दा थप मानवीय क्षति रोक्न सकिने उनको भनाइ छ।

बाढीमा नेपाली नागरिकसँगै विदेशी पर्यटकसमेत प्रभावित भएको हुनसक्ने भन्दै लामिछानेले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सरकारले सबै प्रभावितको उद्धार, उपचार र सुरक्षामा ध्यान दिने विश्वास दिलाए।

उनले विपद्को समयमा घटनास्थलमा अनावश्यक रूपमा भीड जम्मा भएर भिडियो खिच्ने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरे। यस्तो गतिविधिले उद्धारमा खटिएका सुरक्षाकर्मीलाई थप चुनौती हुने र आफैं पनि जोखिममा पर्न सक्ने उनले बताए।

लामिछानेले रास्वपाले आकस्मिक बैठकमार्फत राहत कोषमा सहयोग गर्ने रकम तय गर्ने तथा पार्टीका सांसदलाई सामूहिक रूपमा विपद् व्यवस्थापनमा परिचालन गर्ने जानकारी दिए।

उनले अहिले नै सरकारको कार्यसम्पादनको समीक्षा गर्न हतार नगर्न प्रतिपक्षी दल, नागरिक समाज तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरे। अहिलेको प्राथमिकता नागरिकको ज्यान बचाउनु भएको भन्दै उद्धार, राहत र पुनस्र्थापनापछि मात्रै सरकारको कामको समीक्षा गर्नुपर्ने उनको भनाइ छ।

लामिछानेले भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली र प्रविधिलाई विकासको प्रमुख आधार बनाउनुपर्ने बताए। ठूला भौतिक पूर्वाधार निर्माणलाई मात्र विकासको सूचक मान्न नहुने भन्दै उनले विपद् आउनुअघि सूचना प्राप्त गर्ने प्रविधि र संयन्त्रको विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

उनले सरकारलाई नागरिकको खोजी तथा उद्धार, राहत र पुनस्र्थापनामा सम्पूर्ण क्षमता परिचालन गर्न आग्रह गर्दै विपद्को समयमा सबै राजनीतिक दल एकजुट भएर राष्ट्रिय ऐक्यबद्धताको उदाहरण प्रस्तुत गर्नुपर्ने बताए।
 

प्रकाशित: Aug 26, 2026| 16:07 बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्