बुधबार, भदौ १०, २०८३

नेपाली कांग्रेसलाई बलियो बनाउन एकताको विकल्प छैन : आनन्द बिष्ट

 |  बुधबार, भदौ १०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०८३

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य आनन्द बिष्टले पार्टीभित्रको एकता राजनीतिक निर्णय वा कानुनी प्रक्रियाबाट मात्रै सम्भव नभई भावनात्मक रूपमै हुनुपर्नेमा जोड दिएका छन्।

पार्टीभित्र देखिएका विभिन्न असमझदारीकाबीच एक अपिल जारी गर्दै नेता बिष्टले अदालत र निर्वाचन आयोगका निर्णयले कानुनी बाटो देखाउन सक्ने भए पनि मन नमिलेसम्म पार्टीभित्रको वास्तविक एकता सम्भव नहुने स्पष्ट पारेका हुन्। 

उनले अब आरोप-प्रत्यारोप, व्यक्तिगत स्वार्थ, लाभ-हानी र अहंकारभन्दा माथि उठेर नेपाली कांग्रेस र नेपाली जनताको बृहत्तर हितका लागि सबै तहका नेता तथा कार्यकर्तालाई एकताको पहल गर्न जोडदार आह्वान गरेका छन्।

इतिहासका पाना फर्केर हेर्न आग्रह गर्दै उनले पार्टीका संस्थापक एवं अग्रज नेताहरू बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर राणा र कृष्णप्रसाद भट्टराईको जीवन र संघर्षलाई स्मरण गरेका छन्। अग्रजहरूले पदका लागि नभई लोकतन्त्र र राष्ट्रका लागि आफ्नो जीवन समर्पण गरेको उल्लेख गर्दै नेता बिष्टले जेल, निर्वासन, दुःख, अपमान र अनेकौँ कठिनाइ सहेर पनि उनीहरूले कांग्रेसको आदर्श र लोकतन्त्रको झण्डा कहिल्यै झुक्न नदिएको बताएका छन्।

आज पार्टीभित्र विचारका मतभेद र नेतृत्वका विषयमा असहमति हुन सक्ने यथार्थलाई स्वीकार गर्दै उनले मन फुटाएर इतिहास नजोगिने र अग्रजहरूको त्यागबाट सबैले पाठ सिक्नुपर्ने औंल्याएका छन्। अहंकार होइन आत्मीयता रोज्न, विभाजन होइन एकता रोज्न तथा व्यक्तिगत स्वार्थभन्दा पार्टी र राष्ट्रलाई सर्वोपरी ठान्न उनको आग्रह छ।

'हामी एक भए कांग्रेस बलियो हुन्छ, कांग्रेस बलियो भए लोकतन्त्र बलियो हुन्छ, र लोकतन्त्र बलियो भए देश बलियो हुन्छ,' उनले भनेका छन्। उनले सम्पूर्ण नेता तथा कार्यकर्तालाई अहंकार बिर्सिएर मन जोड्न, हातेमालो गर्न र नेपाली कांग्रेसलाई फेरि एकताको बलियो घर बनाउन अपिल गरेका छन्।

प्रकाशित: Aug 26, 2026| 11:31 बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्