मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बेजोससहितको समूहले लिभरपुलमा ३० प्रतिशत हिस्सा किन्न वार्ता अघि बढायो

बेजोससहितको समूहले लिभरपुलमा ३० प्रतिशत हिस्सा किन्न वार्ता अघि बढायो

 |  मंगलबार, साउन २६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०८३

काठमाडौं- विश्वका धनाढ्य अमेरिकी व्यवसायी तथा अमेजनका संस्थापक जेफ बेजोससहितको एउटा समूहले इंग्लिस फुटबल क्लब लिभरपुलमा करिब ३० प्रतिशत हिस्सा किन्नका लागि भइरहेको वार्तालाई अघि बढाएको छ।

समूहको नेतृत्व बेलायती-भारतीय व्यवसायी अमित भाटियाले गरिरहेका छन्। सामाजिक सञ्जाल फेसबुकका सहसंस्थापक एडुआर्डो सेभेरिन पनि समूहमा सहभागी छन्।

लिभरपुलका वर्तमान मालिक फेनवे स्पोर्ट्स ग्रुपले गत महिना उक्त समूहले क्लबमा रणनीतिक अल्पमत हिस्सेदारी किन्न चासो व्यक्त गरेको पुष्टि गरेको थियो। अहिले समूह र क्लबबीचको वार्ता थप अघि बढेको बताइएको छ।

अमित भाटिया भारतीय अर्बपति व्यवसायी लक्ष्मी मित्तलका ज्वाइँ हुन्। उनले क्विन्स पार्क रेन्जर्स क्लबमा १८ वर्षसम्म सञ्चालक तथा सहमालिकका रूपमा काम गरेका थिए। गत महिना उनले उक्त क्लबमा रहेको आफ्नो हिस्सा छाडेका थिए। बेजोस विश्वका चौथो धनी व्यक्ति हुन्। अमेरिकी आर्थिक पत्रिका फोर्ब्सका अनुसार ६२ वर्षीय बेजोसको अनुमानित सम्पत्ति करिब २५६ अर्ब अमेरिकी डलर रहेको छ।

फेनवे स्पोर्ट्स ग्रुपले सन् २०१० मा करिब ४० करोड डलरमा लिभरपुल किनेको थियो। त्यसपछि समूहले क्लबको केही अल्पमत हिस्सा विश्वव्यापी खेल लगानी कम्पनी डाइनास्टी इक्विटीलाई बिक्री गरिसकेको छ।

बेजोसले सन् २०२१ मा अमेजनको प्रमुख कार्यकारीको जिम्मेवारीबाट हटेर कार्यकारी अध्यक्षको भूमिका सम्हालेका थिए। यद्यपि अमेजनमा उनको अझै करिब ८ प्रतिशत स्वामित्व रहेको छ। बेजोसले अमेरिकी पत्रिका द वासिङ्टन पोस्ट र अन्तरिक्ष प्रविधि कम्पनी ब्लु ओरिजिनको समेत स्वामित्व राख्छन्। सन् २०२१ मा उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए।

यसअघि सन् २०२३ मा अमेरिकी राष्ट्रिय फुटबल लिगको टोली वासिङ्टन कमान्डर्स बिक्रीमा राखिएपछि बेजोस उक्त टोली किन्न इच्छुक रहेको चर्चा चलेको थियो। उनले सुपर बाउल विजेता सियाटल सीहक्स किन्न सक्ने सम्भावनाबारे पनि अध्ययन गरेका थिए।

तर बेजोसले दुवै टोलीका लागि अन्ततः औपचारिक प्रस्ताव पेश गरेनन्। लिभरपुलमा लगानीको प्रयास सफल भएमा भने उनी पहिलोपटक ठूलो खेलकुद क्लबको स्वामित्वमा प्रत्यक्ष रूपमा प्रवेश गर्नेछन्।

प्रकाशित: Aug 11, 2026| 14:31 मंगलबार, साउन २६, २०८३
प्रतिक्रिया दिनुहोस्